चलचित्र लभ स्टेशन शोको लागि चर्चित नायक प्रदिप खड्का यतिखेर जापानको विभिन्न शहरमा पुगेका छन् । जापानको प्रमुख शहरहरु टोकियो ,नागोया र फुकुओका गरि ३ शोमा चलचित्र लभ स्टेशन शोको आयोजना गरेको छ ।
जसमा जुन २३ तारिख टोकियोमा नमस्ते टोकियोले आयोजना गरेको लभ स्टेशन शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । त्यसैगरी जुन २५ तारिख नागोयामा धरान फूटबल टिम जापानले आयोजना गरेको शोमा नागोयाबासी नेपालीहरुको बाक्लै उपस्थिति रहेको थियो । चलचित्रबाट उठेको केहि रकम संयुक्त एकता अपाङ्ग आवाज केन्द्रको सहयोगर्थको लागि गरेको उक्त लभ स्टेशन शो टोकियोमा भन्दा सफल देखियो ।
नायक प्रदिप खड्का र निर्माता गोविन्द शाही शहभागी भएको उक्त शोमा महिला दर्शकहरुको बढी सहभागिता रहयो । शो सुरु हुनुभन्दा अगाडी स्टेजमा गएर नायक प्रदिपले उपस्थित दर्शकहरुलाई धन्यवाद दिए । चलचित्रको शो सकिएपछि नायक प्रदिपसंग सेल्फी खिच्ने दर्शकहरुको भिडलाई थाम्न आयोजकलाई केहिबेर हम्मेहम्मे भएको थियो ।
चलचित्रको अन्तिम शो फुकुओकामा जुन २९ तारिखमा हुदैछ ।
काफिया फिल्म्सको ब्यानरमा काफिया शाही र कबिरबिक्रम शाहीले निर्माण गरेको चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्याको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । उज्ज्वल घिमेरे निर्देशित यो चलचित्रमा प्रदिप र जसिताको अलावा रमेश बुढाथोकी, प्रकाश शाही, रेशु भट्टराई, बिनोदकुमार पौडेल, प्रिय रिजाल, सरु बिस्ट, रबि डंगोल, दिनेश काफ्ले लगायतका कलाकारहरुको अभिनय रहेको छ ।