स्थानीय गाईको संरक्षणका लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मङ्सिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञान महायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको हो ।
वडा नं ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार महोत्सवबाट सङ्कलन हुने रकमले गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको वंश संरक्षण गरिनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र पर्यावरणीय रूपमा समेत गाईको महत्व ठूलो रहेकाले जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवका रूपमा महायज्ञ सञ्चालन गरेको बताए ।
स्वामी कमलनयनाचार्यको सङ्कल्प र स्थानीयवासीको सक्रियतामा वि.सं. २०७२ मा धाइरिङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणका लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिए । उनले महोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससँगै गौशालाको दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोषसमेत स्थापना गर्ने उद्देश्य राखिएको बताए ।
महायज्ञमा करीब ५ करोड रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञको व्यवस्थापनसँगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापीरूपमा प्रचारप्रसारलाई तीव्रता दिइएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिए ।
महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्यसँगै पण्डित सुदर्शन बरालको कथा वाचन र प्रवचन रहनेछ । जलजला गाउँपालिका र कुस्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा ५ हजार ५५५ रुपैयाँ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताव गरिएको छ भने महोत्सव अवधिभर एक हजारभन्दा बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको वरिष्ठ उपाध्यक्ष डण्डपाणि रिजालले जानकारी दिए । अहिलेसम्म ४०० जनाले आयोजक सदस्य लिइसकेका छन् ।
कालञ्जर क्षेत्र र गौशालाको विकासका लागि आयोजित महायज्ञलाई सफल बनाउन गाउँपालिकाले समेत आवश्यक पहल गरेको जलजला गाउँपालिका–४ का वडाध्यक्ष भीष्म मल्लले बताए । यसअघि गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माण र कालञ्जर पर्वतको विषयमा डा. जगन्नाथ रेग्मीले तयार पारेको पुस्तक प्रकाशनमा समेत आर्थिक सहयोग गरेको उनले जानकारी दिए । विराट ज्ञानमहायज्ञ एवं गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पूर्वाधार विकाससँगै म्याग्दीको भुरुङतातोपानीदेखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौरसम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहासिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानाकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिका रूपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।
गाईको महत्व यस्तो छ
पछिल्लो समय गाईपालन हराउन थालेसँगै लोप हुन लागेको गाईको धार्मिक र पर्यावरणीय महत्व रहेको छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ । हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ । गाईको मल खेती गर्नका लागि अति उपयोगी मानिन्छ । गाईको प्रशोधन गरिएको गहुँत आयुर्वेद औषधि बनाउन प्रयोग गरिने भएकाले असीमित महत्व बोकेको गाई संरक्षणका लागि पहल थालिएको महायज्ञ आयोजक समितिले जनाएको छ ।
मानव सभ्यतासँग जोडिएको गाईको दूध, दही, घ्यू पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने बताइएको छ । परम्परागत समाजमा गाईपालन बृहत् रूपमा हुँदै आए पनि पछिल्लो समय भने बिस्तारै हराउँदै जान थालेको छ ।
बृहत् गाईपालनको योजना प्रस्ताव
गौमहोत्सवबाट सङ्कलन हुने रकमबाट अहिले धाइरिङमा रहेको गौशालाको क्षमता विस्तार गरी गाईपालनलाई बृहत् बनाउने योजना अघि सारिएको छ । मूल आयोजक समितिले धाइरिङदेखि माथि विशाल जङ्गल रहेको र चरन क्षेत्रको अभाव नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो । गौशालाको क्षमता विस्तार गर्न सकेमा अहिले बेनी, बागलुङ र कुश्मामा छाडा छोडिएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिका आर्थिक संयोजकसमेत रहेका वरिष्ठ उपाध्यक्ष रिजालले जानकारी दिए ।
महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचनसँगै गाई पूजा, गौदान भजनकीर्तनसमेत प्रस्तुत गरिनेछ ।