आलेख : ‘प्याङ्ग्री’ झारले रैथाने वनस्पति सङ्कटमा

भद्रपुर

स्थानीय बोलीचालीमा ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति ‘माइकेनिया माइक्रान्था’ झापामा अनियन्त्रित रुपमा फैलिइरहेको छ । यसको फैलिँदो अवस्थाका कारण रैथाने वनस्पति सङ्कटमा परेका छन् ।

प्याङ्ग्री झारले खाली रहेका अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी वनस्पतिलाई मास्न थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । भुईँ, पर्खाल र रुख जताततै लहरिन सक्ने विशेषता भएको यो झार खेतबारी, सडक र वन क्षेत्रमा अनियन्त्रित रुपमा मौलाइरहेको छ ।

यसले रैथाने वनस्पतिलाई हुर्किन नदिने भएकाले नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर फरेस्ट एक्सन नेपाल नामक गैरसरकारी संस्थाले झापाको हल्दिबारी क्षेत्रमा अनुसन्धान शुरु गरेको छ ।

फरेस्ट एक्सनले सो झारलाई प्राङ्गारिक मल बनाउन सकिनेतर्फ स्थानीयवासीलाई उत्प्रेरित गरिरहेको संस्थाकी फिल्ड कर्मचारी देविका अधिकारीले बताइन् ।

खाली जग्गा भेटेपछि केही वर्षमै फैलिएर अरु वनस्पतिलाई प्याङ्ग्री झारले मास्ने भएकाले यसकै कारण प्राकृतिक जङ्गलका कैयन रैथाने जडीबुटी र बोटबिरुवा लोप हुने अवस्थामा पुगेको डिभिजन वन कार्यालय झापाका प्रमुख घिमिरेले बताए ।

वन क्षेत्र, सडक किनारका बिजुलीका खम्बा, सदरमुकाम भद्रपुरस्थित सरकारी कार्यालयका जग्गा र खोला किनारका खाली जग्गामा प्याङ्ग्री झार अत्यधिक मात्रामा फैलिइरहेको पाइएको छ । घिमिरेका अनुसार यो झार ठुस्स गनाउने भएकाले गाईवस्तुले समेत खान रुचाउँदैनन् । यसको उम्रिने र फैलिने दर अरु वनस्पतिभन्दा ज्यादा हुन्छ ।

शहर, गाउँ, सिमसार, खोल्साखोल्सी र जङ्गल जहाँ पनि यो झार आफैं उम्रिने र छिटो फैलिने गरेको छ । झापाको सबैभन्दा ठूलो जङ्गल रहेको जलथलको खाली ठाउँ प्याङ्ग्री झारले ढाकिँदै गएको स्थानीय पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिबारीका अध्यक्ष चिरञ्जीवी पौडेल बताउँछन् ।

उनका अनुसार सामुदायिक वनले जङ्गलभित्रको खाली ठाउँमा फैलिइरहेको प्याङ्ग्री झारलाई उखेलेर वृक्षरोपण गर्ने अभियान शुरु गरेको छ । केही नगरी खाली ठाउँ छाड्दा यस झारले ढाक्ने चेतावनी विज्ञहरुले दिएको हुँदा वृक्षरोपण थालिएको उनको भनाइ छ । प्याङ्ग्री झार फडानीका लागि सामुदायिक वनलाई फरेस्ट एक्सन नेपालले रु. ५० हजार सहयोग गरिसकेको छ ।

‘ठूला रुखहरुमा पनि लहरिएर चढ्न थालिसकेको छ’, सामुदायिक वनका अध्यक्ष पौडेलले भने– ‘भर्खर उम्रिएका बिरुवाहरु त यसले छोपेर मासिसकेको छ ।’

झापाको जलथल जङ्गल नेपालकै एक मात्र यस्तो वन क्षेत्र हो जहाँ पहाडमा मात्र पाइने बोटबिरुवा र जीवजन्तु समेत पाइन्छ । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ । पहाडमा हुने दुम्सी समेत यहाँ पाइन्छ ।

जलथलमा वन सुन्तला, कुसुम, बाँदरझुला, ढेडुझुला, खनिउ, जामुना, केमुना, कटहर, आँप, लटहर, फडिर, हर्रो, बर्रो, अमला लगायतका दर्जनौं फलफूल पाइन्छ । हात्ती, अजिङ्गर, मृग, हरिण, बँदेल, मयूर, सालक, कछुवा, गोहोरो, ठोटरी लगायतका जीव यहाँ पाइन्छन् ।

‘माइकेनियाको साम्राज्य फैलिँदै गयो भने जैविक विविधतामा असर पर्ने हो कि भन्ने चिन्ता बढेको छ,’ त्रिभुवन विश्वविद्यालयका जीव विज्ञान उपप्राध्यापक रामचन्द्र अधिकारी भन्छन्– ‘झापा मात्र होइन, यसले नेपालको पूरै तराई भू–भागमा प्रभाव जमाइसकेको छ ।’

उपप्राध्यापक अधिकारीका अनुसार उष्णप्रदेशीय भू–भागमा फस्टाउने यो झार धेरै वर्ष अघि अमेरिकाबाट नेपाल भित्रिएको विश्वास गरिन्छ । यसलाई विभिन्न मुलुकमा ‘एलियन’ झार पनि भनिन्छ । अमेरिकामा ५ मिटरभन्दा लामो नहुने यो झार नेपालको हावापानी अनुकूल भएर ३० मिटरसम्म लहरिने गरेको उनले जानकारी दिए ।

उनका अनुसार माइकेनिया झारले एक प्रकारको विषादीजन्य तरल रसायन उत्पादन गर्ने भएको हुँदा यसको नजीक अरु बोटबिरुवा फस्टाउँदैनन् । यसले लहरिएर ठूला रुखलाई समेत विस्तारै मास्न सक्छ ।

चितवन राष्ट्रिय निकुञ्जको करीव २० प्रतिशत भागमा यो झारको अतिक्रमण भइसकेको ठानिएको छ भने तराईका चारकोशे वनहरुमा यसको फैलँदो दर अकल्पनीय रहेको छ । अधिकारीका अनुसार हुर्किएको माइकेनिया झार एक दिनमा ९० मिलिमिटरसम्म बढ्ने गर्दछ ।

वन क्षेत्रमा प्रभुत्व जमाइरहेको यो झार विश्वभर समस्याको रुपमा देखा परिरहेको भए तापनि यसबाट औषधि बनाउन सकिने विषयमा विभिन्न अनुसन्धानहरु हुन थालेको उहाँको भनाइ छ । सर्पदंश र विच्छीदंशको औषधि माइकेनिया झारबाट बनाउन सकिने अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया