प्रवासीको वार्षिकोत्सबसँगै सामूहिक भाइटिका

भाग्यशाली चिठ्ठाको आयोजना

नवराज तामाङ संवाददाता
7 Shares

प्रबासी नेपाली सहयोग युवा मञ्च साउदी अरेबियाले तेश्रो वार्षिकोत्सव सामूहिक भाइटिका लगाएर सम्पन्न गरेको छ । मञ्चले वार्षिकोत्सवसँगै देउसीभैलो र भाग्यशाली चिठ्ठा खोलेका थिए । कार्यक्रम नोभेम्बर १ शुक्रबार दमामस्थित होलिडेज रेस्टुरेण्टमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कर्मचारी अब्दुल रहिमले चौथो वर्षमा प्रवेशका क्रममा बृहत कार्यक्रम गरेकोमा धन्यवाद दिए । कर्मचारी रहिमले मञ्चले गरेका कार्यक्रमहरुलाई दूतावासले गर्दै आएको सहयोगलाई निरन्तरता दिन व्यक्तिगत रूपमा पहल गर्ने बताए ।

समारोहमा किराँत राई यायोक्खा साउदीका उपमहासचिव रविन थुलुङ्ग राईले वार्षिकोत्सबसँगै भाइटिका कार्यक्रम गरेकोमा मञ्चलाई धन्यवाद दिए । राईले मन्तव्यका क्रममा अर्को सन्दर्भ जोड्दै नेपाल सरकारले आदिवासीहरुलाई गर्ने गरेको विभेदको झझल्को दूतावासले दिलाएको बताए । दूतावासले गत सेप्टेम्बरमा २२ तारिखमा मनाएको चौथो संविधान दिवसका क्रममा राई, लिम्बु, मगर, तामाङ लगायत आदिवासीहरुको सङ्घसंस्थाहरुलाई नबोलाएर विभेद गरेको हो, उपमहासचिव राईले भने ।

त्यसैगरी जिफण्ट सहयोग समूहका अध्यक्ष बुद्धिमान विश्वकर्मालेे मन्तव्यका क्रममा प्रवासमा सबै संघसंस्था एक भएर अघि बढ्नुपर्ने बताए । अध्यक्ष विश्वकर्माले मञ्चसँग श्रमिकका हकहितका लागी जिफन्टले सधै सहकार्य गरेर सँगसँगै जाने समेत प्रतिबद्धता गरे ।

कार्यक्रममा नेवा समाजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य यावा लिम्बु, दिदीबहिनी समूहकी अध्यक्ष तुलसी माया गुरुङ, तमु धीका अध्यक्ष खेम गुरुङ, मगर सङ्घका कार्यबाहक अध्यक्ष बम थापा मगर, स्याङ्जा सहयोग समाजका महासचिव दिपक खाँडले, नेपाली साझा मञ्चका उपसंयोजक अकल प्रधान, प्रवासी नेपाली मञ्चका अध्यक्ष समिर राई,अन्तर्राष्ट्रिय रोल्पाली समाजका कोषाध्यक्ष भिम मगर र तामाङ घेदुङका क्षेत्रीय उपाध्यक्ष शम्सेर तामाङ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भाग्यशाली चिठ्ठा समेत खोलिएको थियो । भाग्यशाली चिठ्ठाको प्रथम पुरस्कार सुनको सिक्री टङ्क मुस्कानले पाएको थियो । त्यसैगरी द्वितीय पुरस्कर ३२ इञ्चको एलसीडी टीभी रनजित दनुवार, तृतीय पुरस्कार स्मार्ट मोबाइल प्रदिप तामाङ, चौथो पुरस्कार होमथेटोर मधु थापालाई परेको थियो । सान्त्वना पुरस्कारहरू सुनिता योञ्जन, रोशन सारु, आर्दश कुमार र बाल कुमारी भण्डारीले पाएको थियो ।

मञ्चका महासचिव ऋषि श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रमका सभापति विजय लामासँगै झण्डै एक दर्जनले सामूहिक भाइटिका लगाएका छन् ।

समारोहमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका कलाकार सूर्य गिरीको संयोजकमा देउसीभैलो प्रस्तुत गरेका थिए । त्यसैगरी कलाकारहरू इस्लाम मिया, पुतली तामाङ, लक्ष्मी तामाङ, माया लिम्बु, अलि बुढा मगर, धनकुमारी पुन मगर लगायतले बेजोड प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचार 

प्रवासीको वार्षिकोत्सबमा सामूहिक भाइटिकाको आयोजना गर्ने

तपाईको प्रतिक्रिया