सुकुटे दुर्घटना : गाउँपालिकाले बीस हजार सहयोग, विनासर्त शव बुझे

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडाैं

सुनकोशीमा भएको शैलुङश्वरी यातायातको बस दुर्घटनामा परी मृत्यु भएका परिवारका लागि शैलुङ गाउँपालिकाल प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग गर्ने भएका छन् ।

आइतबार भएको दुर्घटनामा शैलुङ गाउँपालिकाका १४ जनासहित कुल १८ जनाको मृत्यु र एक जना बेपत्ता भएका हुन् । उनीहरुलाइै गाउँपालिकाले तत्काल काजकिरीयाका लागि सहयोग गरेकोे गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।

दुर्घटनामा ३ वर्षीया बालिका रियुना लामा तामाङ बेपत्ता छन् । उनका आमाबुबा र दाईसहित बसमा सवार थिए । तामाङको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

विनासर्त शव बुझे

सुकुटे बस दुर्घटनामा परि मृत्यु भएकाको शव आफन्तले बुझेका छन् । सिन्धुपाल्चोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा राखिएका १६ जनाको शव बुझेका हुन् । शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले ६ जनाको भोटेकोशी नदिमा र २ जनाको सुनकोशी नदिमा दाहसंस्कार गरेका छन् भने बाँकी ८ जनाको शव आफन्तले काठमाण्डौ लगेका छन् । भने धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपा रहेको २ वटा शव सोही स्थानबाट आफन्तले बुझेका छन् ।

सिन्धुपाल्चोकमा दुर्घटनाकै दिनदेखि अरनिको यातायात समितिसँग क्षतिपूर्तिका लागि मृतकका आफन्तले आन्दोलन गरेका थिए । वार्ता समिति गठन गरेर समितिका आधिकारिक व्यक्तिलाई बोलाए पनि उपस्थित नभएपछि आफन्तले विनासर्त शव बुझेको अध्यक्ष दुलालले जानकारी दिए ।

वार्ता समिति गठन

सुकुटेमा भएको दुर्घटनामा परी ज्यान गुमाएको तर्फबाट अरनिको यातायात समितिसँग वार्ताका लागि टोली गठन गरेको छ ।

पीडितको पक्षबाट वार्ता टोलीमा रिमालबाबु श्रेष्ठ, नवराज कार्की, जीतकुमार मोक्तान, कुमार अधिकारी, थिरबहादुर मोक्तान, रीना केसी र श्रीकृष्ण कार्की रहेका छन् । उनीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेको उपचारका लागि उचित व्यवस्थाको माग गरेका छन् ।

दोलखाका मागादेउरालीबाट काठमाडौँ जादै गरेको बस आईतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुनकोशी नदिमा खस्दा शैलुङ गाउँपालिका वडा नम्बर ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरि कुल १४ जनाको ज्यान गएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ९ की १ जना र अन्य जिल्लाको ३ गरी १८ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका