तेह्र करोड राजश्व छली : चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन इन्जिनीयर कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्सट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ जुन, वे देगुइ र सुविन श्रेष्ठविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनाका आरोपी तीन जना चिनियाँ नागरिक हुन् ।

राजश्व चुहावट गरेको अभियोगमा रु १३ करोड १३ लाख ११ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैदको मागदाबी लिई मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् । उक्त कम्पनीले वस्तु तथा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक मात्र खरीद गरी राजश्व चुहावटमा संलग्न रहेको अनुसन्धानमा देखिएको उनले बताए ।

उक्त कम्पनीविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार मूल्य अभिवृद्धि करतर्फ ४ करोड २१ लख रुपैयाँ, आयकरतर्फ सात करोड ७७ लाख रुपैयाँ र भएको आय लुकाई मुनाफा वितरण गर्दा लाग्ने लाभांश करतर्फ १ करोड १४ लाख रुपैयाँ राजश्व चुहावट गरेको विभागले दाबी गरेको छ । उनीहरुविरुद्ध विभागले गत आठ महिनादेखि अनुसन्धान गरिरहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका