एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।
इरानको तेहरानस्थित पिएएस मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खायो ।
खेलको २७ औँ मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईले खाता खोलेको थियो । त्यस्तै खेलको पहिलो हाफको ३८ औँ मिनेटमा युएईका इशा खालिफानले एक गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसैगरी खेलको ७१औँ मिनेटमा युएईका खालिफा युसुफले थप एक गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्ला हामिदले एक गोल गरी युएईलाई ४–० को सहज जित दिलाए । समूह डीमा रहेको नेपालले अब आयोजक इरानसँग शुक्रबार खेल्नेछ ।