कास्की–२,मा काङ्ग्रेसको उम्मेदवार पौडेल

सैलुङअनलाइन संवाददाता
0 Shares
कास्की

नेपाली काङ्ग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको पदाधिकारी बैठकबाट आज पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काङ्ग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । निर्वाचनका लागि भोलि नै उम्मेदवार मनोनयनको कार्यतालिका तय भइसकेकामा आज मात्रै काङ्ग्रेसले उम्मेदवारबारे टुङ्गोमा पुगेको हो ।

उम्मेदवारका लागि १६ जना आकाङ्क्षीमध्येबाट पौडेलको नाम छनौट गरिएको हो । पार्टीले आफूले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली समाजको रुपान्तरणमा पुर्‍याएको योगदानको मूल्याङ्कन गरी उम्मेदवारी दिएको बताउँदै उनले निर्वाचनमा जित हासिल गर्ने दाबी गरे ।

कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएका कारण रिक्त पदमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्व: अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

त्यसैगरी साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, समाजवादी पार्टीले धर्मराज गुरुङ र विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका