एकादशीमा बेत्रावतीः बेहुली झैँ ल्याइए फूलको डोली

नुवाकोट
रासस

धार्मिक, पौराणिक र ऐतिहासिक महत्व बोकेको नुवाकोट र रसुवाको सीमाक्षेत्रको पुण्यभूमि बेत्रावतीमा नुवाकोटको सूर्यगढी गाउँपालिका– २ पहरेचोकका स्थानीयको भीड लाग्यो ।

वैदिक विधिअनुसार बाजागाजा र भजनकीर्तनसहित उनीहरु आएका थिए । झ्याउरे भाकामा बाटोभरी नाचगान गर्दै आाएको त्यो लावालस्करले बेत्रावतीका स्थानीयको ध्यान तान्यो । उनीहरु डोलीमा घुम्टो ओढेर सजिएकी बेहुलीसँगै आएका जन्ती झैँ लाग्थे । तर त्यो बेहुली नभएर नदी तार्न फूलको डोली बोकेर आएका भक्तहरुको लस्कर थियो ।

स्थानीय नारायणप्रसाद अधिकारी भन्छन्, “एकादशीको हाम्रो परम्पराअनुसार पुण्यप्राप्तिका लागि फूलको डोली लिएर आएका हौँ ।” यसरी फूलको डोली नदी तार्दा पाप नष्ट हुने र मरेपछि वैतरिणी तर्ने जनविश्वास रहेको उनले रासससँग प्रतिक्रिया दिए । विधिपूर्वक डोली तार्दा मात्रै फल प्राप्त हुने भएकाले गाउँलेहरुले पण्डितलाई साथै ल्याएका थिए ।

पण्डित अच्यूत मिश्रका अनुसार एकादशीको दुई दिनदेखि चोखो बसेका स्थानीयद्वारा एकादशीको अघिल्लो दिन जग्गे बनाएर लिङ्गो गाड्ने चलन छ । त्यही दिन बेलुका सत्यनारायणको पूजा हुन्छ । रातभरी समुदाय जाग्राम बसेर महादीप निभ्न दिँदैनन् । हरिबोधिनी एकादशीको दिन डोरीमा, बेल, पीपल, सयपत्रीलगायत विभिन्न फूलहरु उनेर त्यसैलाई डोलीमा हाली ल्याएर नदी तार्ने परम्परा छ । त्यही विधि पूरा गरेर डोली तार्न ल्याएको मिश्रले बताए । डोली ल्याउँदा अग्रभागमा फूलको मालाले सजाइएको छत्रसँगै महादीप बालिन्छ । उक्त समूहका केही महिलाहरु तेल थप्दै ननिभाइकन महादीप ल्याउन सक्रिय थिए ।

कतिपय ब्रतालु अघिल्लो दिन नै बेत्रावतीको त्रिवेणीधाममा आएर जाग्राम भई पूजापाठ गरिरहेका थिए । यहाँको राम मन्दिरमा रातभर भक्तहरुको ठूलो भीड थियो । डोली नल्याउनेहरुले टपरीमा पूजासामग्री ल्याएर बत्ती बाल्दै पूजापाठ गरी नदीमा बगाउने गरिरहेका थिए ।

बेत्रावतीमा पहरेचोकका समुदायले मात्रै फूलको डोली ल्याएनन् । नुवाकोट र रसुवाका गाउँगाउँबाट बाजागाजा र भजनकीर्तनसहित आएको लावाजस्करले मध्यदिनसम्मै भक्तजनको बाक्लो उपस्थिति रह्यो । गाउँगाउँबाट दर्जनौँ फूलको डोली ल्याएर नदी तारिएको थियो ।

नेपालको उत्तराखण्ड नुवाकोट र रसुवाको सीमा क्षेत्रमा रहेको वैदिकपुराण श्रीमत्भागवत्को हिमावत्खण्डमा वर्णित बेत्रावती उत्तरगयाका रुपमा परिचित छ । गोसाइँकुण्ड मुहान गरी बग्ने त्रिशूलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिन जान्छ । यही त्रिवेणीलाई उत्तरगया भनिने गरिएको हो । त्यसैले विभिन्न पर्वमा यहाँ ठूलो मेला लाग्छ । आज मुख्य गरी हरिबोधिनी एकादशी हो । आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म विष्णु जागा भएको दिनका रुपमा सम्झैर पूजा गर्ने चलन छ । आज विष्णुको विवाह लक्ष्मी (तुलसी) सँग गरिदिने चलन छ ।

त्रिवेणीधाममा नुवाकोटी ८६ वर्षीय नेत्रकुमारी भट्टराईलेसमेत हरिबोधिनी एकादशीमा पूजा गरिन् । नुवाकोटको विदुर नगरपालिका– ७ तुुप्चेकी सावित्री आचार्य श्रीमान् अर्जुनसँगै आएर एकादशी पूजा गरेर फर्कनुभयो । नदी किनारमा पूजा गर्दै गरेकी सावित्रिले भनिन्, “चलिआएको चलन, धर्म मिल्छ, पाप नाश हुन्छ भनेर यहाँ पूजा गरेकी हुँ ।” बिहान उनले नदी किनारमा पूजा गरिरहँदा फूलको डोरी तार्नेको नदी किनारमा भीडभाड भइसकेको थियो ।

भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ कि छैन भनेर सोध्ने चलन अझै रहेकाले पनि यसको महत्व ठूलो छ भन्नुहुन्छ स्थानीयवासी शशिकुमार डङ्गोल । काठमाडौँबाट झण्डै ८० किलोमिटर उत्तरमा छ, बेत्रावती । किंम्वदन्तीअनुसार ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान शिवले कालकुट विष (हलाहल) सेवन गरेका थिए । कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषले घाँटीमा औडाहा भएर आफूले टेकेको बेतको लौरी जमीनमा गाडेका र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यस ठाउँको नाम बेत्रगङ्गा रहन गयो । त्यसैबाट पनि बेत्रावती भन्न थालिएको हो । वैदिकपुराण हिमवत्खण्डमा रहेको श्लोक यस्तो छ …

नीलकण्ठ शिवद्धारे वेत्रगङ्गाश्च सङ्गमे ।
बेत्रावती गयाक्षेत्र भुक्तिः मुक्ति, प्रदर्शन ।।

त्यसैले पनि यहाँ देशका विभिन्न जिल्लाबाट स्नानका लागि आउने भक्तहरुको ठूलो भीड लाग्छ । छत्रबहादुर खड्काद्वारा लिखित पुस्तक ‘बेत्रावती एक चिनारी’मा उल्लेखित कवितालेसमेत महत्वबारे बताएको छ ।

विषपान गरी शिव भौँतारिँदै आए
बेत्रावतीवासीले साक्षात दर्शन पाए
विषबमन गर्न हेतु वेतछडी हाने
गङ्गा प्रकट भएपछि शिवभनी जाने…

यस गङ्गामा स्नान गर्नाले ब्रह्महत्या, गौहत्या, स्त्री हत्याजस्ता महापापसमेत नाश हुने जनविश्वास छ । यहाँ जप, ध्यान, दान यज्ञ गरेमा अक्षयफल मिल्ने पद्मपुराणमासमेत उल्लेख छ ।

नेपाल तिब्बतबीच विसं १८४९ मा भएको ऐतिहासिक बेत्रावती सन्धि पनि यहीँ भएको थियो । हरेक जातजातिलेसमेत पितृकार्य गर्न सक्ने विशेषता रहेको बेत्रावतीमा पुसे औँसीका दिनमा पितृश्राद्ध, गाईजात्रामा लाखे नाच, ठूलो एकादशीमा फूलको डोली ल्याउने र भजनकीर्तन गरी नदी तार्ने, माघेसङ्क्रान्तिमा गोरुजुधाईको प्रदर्शनी, फागूमा सामूहिक होली, रामनवमी र कृष्णष्टमीमा विशेष मेला लाग्छ । विवाह ब्रतबन्ध अन्तिम संस्कारमा यहाँ विनाभेदभाव सबै समुदायको सहभागिता हुने रसुवाका स्थानीय डिल्लीराज घिमिरेले बताए ।

योगी नरहरीनाथले २०४९ सालमा कोटी होम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन् ।  अझै पनि यहाँको पुरिएको गङ्गाको उत्खनन् हुन नसकेकाले महत्व बढ्न सकेको छैन । भौतिक पूर्वाधारसमेत कमजोर छ । उत्तरगया गाउँपालिका र क्षेत्र विकास समितिले भने पछिल्लो चरणमा बजेट छुट्याएर बेत्रावतीको विकाससँगै यसलाई चिनाउने प्रयास गरिरहेको रसुवाको उत्तरगया गाउँपालिका– ५ का अध्यक्ष ईश्वर थापाले बताए । उनका अनुसार अहिले ‘रसुवा कला यात्रा’ पनि त्यसैको एउटा भाग हो ।

यहाँ अहिले काठमाडौँबाट आएका र स्थानीय कलाकार मिलेर कला पर्यटनको विकासका लागि चित्रकला कार्यशाला आयोजना गरिएको छ । नजिकिँदो नेपाल भ्रमण वर्षको प्रवर्द्धन र यहाँको पर्यटन विकासका लागि कलाकारको तर्फबाट एउटा प्रयास गरिएको कार्यक्रम संयोजक दिवेश प्रधानले बताए ।

तपाईको प्रतिक्रिया