चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश बाँड्ने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

चिलिमे जलविद्युत कम्पनीले गतवर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने तयारी गरिरहेको छ ।

नेपालको जलविद्युत इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत कम्पनिले आर्थिक वर्ष ०७५÷०७६ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कार्तिक २५ गते सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत सेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनीका सचिव नारायणप्रसाद आचार्यले जानकारी दिए । कम्पनीले २३ करोड ७९ लाख ६ हजार ७ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश र ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबर सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी मंसिर ११ गते बस्ने २३ औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ, सचिव आचार्यले बताए । उनले भने, ‘कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ७२ रुपैयाँ छ ।’

कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । रसुवामा कुल १ सय ११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाट क्षमताको निर्माणाधीन तल्लो साञ्जेन र सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत निर्माण अन्तिम चरणमा पुगेकोसमेत उनले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका