नोवेल एकेडेमी र शारदा विद्या निकेतन धनगढीमा जारी ‘निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेट’ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
शनिबार भएको पहिलो क्वार्टरफाइनलमा नोवेल एकेडेमीले एबिसी स्कूल नेपालगञ्जलाई १०७ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गर्दै नोवेलले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनायो ।
सो पारीमा किरन ठगुन्नाले ५० र गणेश विटालुले ३९ रन बनाए । एबिसीका लागि अर्जुन सिंह र टङ्क खड्काले दुई–दुई विकेट लिए । १५९ रनको लक्ष्य पछ्याएको एबिसी १६ ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । सो पारीमा बुद्ध अधिकारीले १५ र विराट भण्डारीले १० रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कको रन छुन सकेनन् ।
नोवेलका लागि विकास सुनारले पाँच विकेट र आदित्य सिंहले दुई विकेट लिए । अर्धशतकीय पारी खेलेका नोवेलका किरण ठगुन्ना ‘म्यान अफ द म्याच’ भए । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको आजै दोस्रो खेलमा शारदा विद्या निकेतनले लिटिल बुद्ध एकेडेमीलाई ८२ रनले हरायो ।
पहिले ब्याटिङ गर्दै शारदाले २० ओभरमा सात विकेट क्षतिमा १७२ रन बनायो । सो पारीमा अर्जुन सावदले ४२ रन वीरेन्द्र नाथले ४० रन बनाए । लिटिल बुद्धका लागि निराजन गौतमले तीन विकेट लिए । १७३ रनको लक्ष्य पछ्याएको लिटिल बुद्ध १९ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा ९० रन बनायो ।
सो पारीमा रमेश भट्टले सर्वाधिक १८ रन बनाए । शारदाका लागि अरुण धामीले पाँच विकेट लिए भने वीरेन्द्र नाथले तीन विकेट लिए । ४० रन बनाएर तीन विकेट लिएका शारदाका वीरेन्द्र नाथ ‘म्यान अफ द म्याच’ भए ।
आइतबार क्वार्टरफाइनलमा हिमालय ह्वाइट हाउस र शारदा माविबीच हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।