फिकुरी पर्यटकीय हव बन्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
नुवाकोट, किस्पाङ

नुवाकोटको किस्पाङ गाउँपालिकास्थित वडा नं. २ मा रहेको फिकुरी (फ्युक्पा ह्रि) धार्मिक आस्थाको लागि पनि केन्द्र मानिन्छ । पर्यटकीय दृष्टिकोणले अति नै रमणीय यो स्थान समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ ।

ट्रेकिङको लागि अति उपयुक्त स्थान फिकुरीमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । यसवर्षको एकादशी मेलामा करिब पाँच हजार तीर्थालु पुगेका थिए । नुवाकोटको किम्ताङ, बुङताङ, मेघाङ, त्रिशुली, भाल्चे, देउराली, आसपासका जिल्ला रसुवा र धादिङबाट समेत बोन्बो (झाँक्री) सहित तीर्थालुहरु त्यहाँ आएका थिए ।

 

फिकुरीबाट सिङ्ल्हा, हिमाल, सूर्योदय, सुर्यास्त जस्ता दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

किस्पाङ हुदै नौ घडेरी, ज्याकोता भएर करिब ६ घण्टाको उकालो पैदल यात्राबाट फिकुरीमा पुग्न सकिन्छ । पद्मसम्भव तत्कालिन समयमा नेपालको मध्य पश्चिम हुदै अगाडि बढ्ने क्रममा नौ घडेरी र फिकुरीमा बास बस्ने गरेको इतिहास स्थानीयले बताउँदै आएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु व्यापक भित्र्याउने उद्देश्यले पर्यटकीय पूर्वाधारको लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए । अध्यक्ष लामाका अनुसार नीति तथा कार्यक्रममार्फत गौरवपूर्ण योजनामा फिकुरीलाई प्राथमिकता राखेकोले पर्यटन हव बनाउने पालिकाको निर्णय भइसकेको छ ।

‘धार्मिक दृष्टिकोणमा बौद्धमार्गीहरुको ठूलो ने (डाँडा) हो’ । यहाँ रहेको कुंगरमा बोन्बोहरू पूजापाठ गर्ने गरिन्छ भने सोही वरिपरि लामा विधिबाट पूजापाठ गरी लुङता, धज्र्यु लगायत चढाउने गरेको किस्पाङका स्थानीय सेरबहादुर लामाले बताए । उनले कुंगरमा रहेको डोल्माको पूजा गर्दा धन र सन्तान लाभ हुने विश्वास व्यक्त गरे ।

‘किस्पाङमा रहेका पर्यटकीय क्षेत्रहरु फिकुरी, फुङफुङ झरना, सिङ्ल्हा, गोङ्गर, चामचप्पा, बोल्दे लगायतका स्थानहरुमा पर्यटन वर्ष २०२० मा आउने पर्यटकहरुलाई स्वागत गर्न चाहन्छ, हाम्रो गाउँपालिका ।’ कुराकानीकै बीचमा अध्यक्ष लामाले भने ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेसँगै ग्रामीण सडकहरुको विकास तिब्र भएको छ । यसरी पूर्वाधारहरु विकास भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेका छन् । पर्यटकीय क्षेत्रहरु स्थानीय सरकारको सम्पत्ति र आयस्रोतको बलियो आधार निश्चित हो । यसर्थ गाउँपालिकाले यसलाई दिर्घकालीन हुने गरी व्यवस्थापन गर्न जरुरी रहेको छ । संघीय सरकारले यस किसिमका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म गराउनुपर्नेछ । अनि मात्र ग्रामीण जनता र स्थानीय सरकारको आयस्रोत बृद्धि हुनेछ । यो सँगै स्थानीय र संघीय राजश्व बृद्धि भएर ‘समृद्ध नेपाल सुखी नेपाली’ हुनेछ ।

नोट : फिचर केही वर्षअघिको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका