समाजसेवा निस्वार्थ भावले जतिखेर जहाँबाट नि गर्न सकिन्छ भन्ने पछिल्लो उदाहरणहरू थुप्रै देख्न थालेको छ । त्यसमध्ये सामाजिक सञ्जाल फेसबूकबाट अभियान चलाएर सहयोग गर्ने चलन बढेको छ ।
यसै क्रममा दोलखा किराँतीछापाकी निता राउत पनि फेसबूकबाट अभियान चलाएर समाजसेवामा उभिएकी छिन् । उनी पेशाले पत्रकार हुन्, हाल प्रदेश नम्बर ३ को गाउँपालिका महासंघकी समन्वय अधिकृतमा कार्यरत छिन् । ३० वर्षीय राउत आफ्नी जिम्मेवारीसँगै निता राउत फाउन्डेसनबाट समाजसेवा गर्छिन् ।
फाउन्डेसनको पहलमा गत आइतबार सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ४ डकाहास्थित रहेको सरस्वती माध्यमिक विद्यालयका १ सय २० बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरेका थिए ।
विपन्न, दलित दनुवार र मुसहर जातिका बालबालिका अध्ययन गदै आएका सो विद्यालयमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय आउन छोडेको जानकारी पछि सहयोग प्रदान गरिएको फाउण्डेशनकी अध्यक्ष राउतले बताइन् ।
राउतले आफ्नै नामबाट नामकरण गरेर २०७४ सालमा दोलखा जिल्लामा फाउन्डेसनको दर्ता गरेकी थिइन् ।
विशेष गरेर वृद्धवृद्धा र बालबालिकालाई त्यसमध्ये पनि विपन्न वर्गलाई लक्षित गरेर सहयोग गर्ने राउतले २०७२ सालको महाभूकम्प पश्चात् फेसबूकबाट अभियान चलाएर सामाजिक काम सुरु गरेकी थिइन् । राउतले महाभुकम्पका पीडितहरुलाई विभिन्न संघसंस्थासंँगको सहकार्यमा ब्लैकेट लगायत आवश्यक सामग्री वितरण गरेकी थिइन् ।
राउतले मृगौला रोगीको सहयोगार्थ अभियान चलाएर सुरु गरेकी सामाजिक कार्य हालसम्म
तराईका बाढी प्रभावितलाई राहत,बालिकाको अभिभावकत्व ग्रहण,काठमाण्डौमा रहेका एचआइभि सङक्रमित बालबालिकाको लागि सहयोग लगायत दोलखा गौरीशंकर बालगृह,दृष्टिविहीन बालबालिकालाई सहयोग गर्दै आएकी छिन् ।
त्यसैगरी बृद्धबृद्धाका लागि जाडोमा न्यानो कपडा, विद्यार्थीहरुलाई झोला,स्कुल पोशाक, स्टेसनरी सामाग्री लगायत इत्यादिहरुमा सहयोग गर्ने गर्छिन् ।
राउत सामाजिक काम गरेबापत देशविदेशबाट सम्मानित भैसकेकी छिन् ।