एक समय यस्तो पनि थियो जति बेला जातीय पहिचानको मुद्दाको विषय निकै कसिलो रुपमा सडक देखि सदन सम्म उठेकोे थियो । समय त्यति घर्की सकेको पनि छैन । हिजो जस्तै लाग्छ । तर राजनीतिक धरातलमा उठेका जातिय मुद्दाहरुले सोचे जसरी अवतरण नपाएको तथ्य भने सत्य हो । यद्यपि स्वजागरण, स्वअस्तीत्व र स्वपहिचानको लागि बहस गर्ने, अध्ययन, खोज, अनुसन्धान गर्ने, अभिलेखिकरण गर्ने कार्यले भने व्यक्तिगत एवं संस्थागत रुपमै निरन्तरता पाएको छ । यसलाई सकरात्मक रुपमा लिनु पर्छ । यसै सन्दर्भमा तामाङ जातिसँग सम्बन्धित थुप्रै मूर्तअमूर्त सम्पदा लगायत इतिहासका विषयमा खोज अनुसन्धानमा लामो समय विताउनु भएका तामाङ अन्वेषक रबीन्द्र ग्याबा तामाङले तामाङ जातिभित्रको महत्वपूर्ण थर ग्याबा वंशावलीलाई प्रकाशनमा ल्याएको छ । पुस्तकलाई गगनदीप सर्व र रमेशप्रसाद सागरले सम्पादन गरेका हुन भने शैलुङ बुक्स प्रालिले प्रकाशन गरेको छ ।
ग्याबाहरुको जिम्बा, वाइवा, रुम्बा, टुबा, मार्वा र हुम्बा सहगोत्री थरहरु हुन भने घिसिङ र बल मितेरी थर हुन् ।
प्रस्तुत पुस्तकमा पुस्तकारले ग्याबा वंशावलीलाई प्रस्तुत गर्ने क्रममा १ देखि १६ अध्यायको भिन्न भिन्न शीर्षकमा राखेर अध्ययन गरेका छन् । जस अनुसार तामाङ थरको इतिहास, ग्याबाको परिचय र नामकरण, नेपाल आगमन, उदगमस्थल र कुलदेवता, दाजुभाइ थर, कुलपूजा, पुख्र्यौली थातथलो चोथाङ, जनसंङ्ख्या र बसाइँसराइ, चोथाङको नामकरण, चोथाङको भूमिप्रशासन, चोथाङको राजनैतिक, चोथाङको दर्शनीय सम्पदाहरु, चोथाङको व्यक्तित्वहरु र चोथाङको बाटाघाटहरु आदि ।
तामाङ जातिभित्र भिन्न प्रणालीहरु मध्ये थर प्रणालीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । थर प्रणालीबाटै सामाजिक एवं साँस्कृतिक व्यवहारहरु निर्देशित हुने हुँदा थरले बोक्ने अर्थ विशेष रहन्छ । थरले आफ्नो पूर्खाको रक्त सम्बन्ध पत्ता लगाउने त्यसै अनुरुपको व्यवहारलाई सामाजीकरण गरिदिन्छ । त्यसैगरी नाता गाँस्न मिल्ने जसलाई कटुम्बेरी थर पनि भनिन्छ त्यसको पनि निर्धारण गर्ने हुँदा थर महत्वपूर्ण प्रणाली मान्न सकिन्छ । यसैको आधारशीलामा रहेर लेखकले ग्याबा थरको वेलिविस्तार गरेका छन् ।
ग्याबा, ग्याबक, ग्यापक, घ्याबा, ज्याबा, ग्याल्बो नाममा देशदेशवार अर्थात भौगोलिक रुपमा छरिएर रहेकोमा ग्याबा तामाङ उत्थान संघको केन्द्रिय तदर्थ समितिले ग्याबाकहरुको पुख्र्यौली थातथलो दोलखा जिल्लाको चोथाङमा वि.स. २०७४ चैत्र २९, ३० बैसाख १ ३ मा गरेको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनले औपचारिक रुपमा एकरुपताको लागि ग्याबा लेख्नको लागि सदर गरियो । जुन आफैमा उपलब्धी मान्नु पर्छ । यसले ग्याबा थर भित्रै आउने निकट शब्दवाली जुनसुकै भए पनि ग्याबाले सबै भ्रमलाई निवारण गरेको छ । पुस्तकले ग्याबाको परिचय र नामकरण अध्यायमा ग्याबासँग सम्बन्धित लोक आख्यानहरुलाई चर्चा गरेका छन् । यसले श्रुति परम्पराबाट पुरानो पुस्ता देखि हालसम्म सुनिदै आएको र त्यसलाई फरक समयमा विद्वानहरुले गरेको अभिलेखिकरणको आधारमा प्रस्तुत गरेका छन् । वास्ववमा भन्ने हो भने नेपालमा जातिय इतिहासको भरपर्दाे दस्तावेज खासै छैन भने पनि हुन्छ । समयको काल खण्डमा भएका पनि मासिएको तीतो सत्य हामी सामु छ । यसैले पनि जनजातीय अध्ययन जुन मोडलबाट हुनु पर्ने हो त्यसरी हुन सकिरहेको छैन । यसर्थ भए गरेका अध्ययनहरु तथ्यपरक भन्दा पनि कथ्यपरक भएको सत्य हो । पुस्तकमा ग्याबाको नेपाल आगमनलाई पनि लेखकले कथ्यबाटै अघि सारेका छन् । जस अनुसार चीन पछि भोट हुँदै नेपाल सरहदको दोलखा जिल्ला अन्तर्गत चोथाङ गाउँमा आइपुगे भन्ने जिकिर गरेका छन् । अद्यावधि ग्याबाहरुले चोथाङलाई पुख्र्यौली थातथलोको रुपमा मान्दछन् ।
तामाङहरु बौद्ध धर्म मान्दछन् । तर, बौद्ध पक्षबाट मात्र तामाङ जातिलाई बुझ्दा अपुरो हुन जान्छ । यसर्थ बौद्ध र बोनको मिश्रित स्वरुपका संस्कारगत कार्यहरु अझै पनि अभ्यासमा स्पष्ट देख्न सकिन्छ । यसैको एउटा पाटोको रुपमा कुलपूजालाई लिन सकिन्छ । ग्याबा थरको कुल देवता पेकर ग्याल्बो हो भने यसलाई पुज्ने विधिको बारेमा अध्याय सातमा वेलिविस्तार गरेका छन् । त्यसैगरी ग्याबा थरको सहगोत्री थरहरु अर्थात ब्रर्दर क्ल्यानको बारेमा अध्याय छमा परिचय दिएका छन् । यसलाई चलनचल्तीको भाषामा स्वाँगे थर पनि भनिन्छ । जिम्बा, वाइवा, रुम्बा, टुबा, मार्वा र हुम्बा सहगोत्री थरहरु हुन भने घिसिङ र बल मितेरी थर हुन । माथि उल्लेखित थरहरु बीच बैवाहिक सम्बन्ध गाँस्न तामाङ समाजमा बर्जित गरिएको छ । यस विषयमा लेखकले तामाङ थर पुस्तकमा विस्तृत अध्ययन गरेका छन् । पुस्तकमा चोथाङको ग्याबा वंशलाई रेखिय शैलीमा प्रस्तुत गरेका छन् । चोथाङबाट प्रसारित भएको वंशवृक्षलाई पनि पुस्तकमा अघि सारेको छ । अन्तिम पृष्ठमा लेखकको वंशवृक्षलाई पनि प्रस्तुत गरिएको छ । यसलाई मिहिन अध्ययन गरी खोज्दै जाँदा आफ्नो वंशलाई भेटाउन सकिन्छ ।
वंशावलीलाई इतिहासको भरपर्दाे स्रोतको रुपमा लिने गरिन्छ । किनभने वंशावली पूर्खासँग जोडिएको महत्वपूर्ण पक्ष हो । त्यही पूर्खा फेरि इतिहासको एउटा पाटो पनि हो । यस अर्थमा वंशावलीले इतिहासकै विषयलाई बोक्न सक्ने हुँदा ग्याबा वंशावली जातिय अध्ययनको पक्षबाट महत्वपूर्ण दस्तावेज बनेको छ । अध्यायभित्र उठाएका विषय सन्दर्भलाई प्राप्त भएसम्म अभिलेख, मिथलाई पादटिप्पणी र परिशिष्टहरुमा प्रस्तुत गरेका छन् । जसले गर्दा विषय सन्दर्भलाई बुझ्न निकै सजिलो बनाएको छ । पुस्तक ग्याबा वंशावलीको स्वरुपमा आएपनि पुस्तकभित्र ग्याबा थरसँग जोडिएका धेरै विषयहरुलाई चर्चा गरेका छन् । जुन सिङ्गो जातिय पक्षबाट पनि महत्वपूर्ण मान्न सकिन्छ । मानव पूर्खाले पर्यावरण, भूगोल र परिवेश अनुरुप निर्माण गरेको आफू अनुकुलको संस्कृतिलाई भावि सन्ततिको सहजताको संरक्षण गर्न जुन नियम, विधिहरु, परिधि र पद्धतिहरुको विकास गरेका छन् । त्यसको विरासत जोगाउनु सबैको दायित्व हुन आउँछ । यस सन्दर्भमा प्रस्तुत पुस्तकलाई लामो खोज अनुसन्धान र अध्ययन गरेर प्रकाशन गर्नु लेखकले लेखकीय धर्म निर्बाह गरेको मान्नु पर्छ । लेखक स्वयं ग्याबा भएकोले तमाम ग्याबा पूर्खाप्रति सम्मान गरेको छ । अर्काे कुरा पुस्तकले समय अन्तरालमा स्रोत र साधन माथि भएको बाहिरीया अतिक्रमण त्यसैगरी रोजगारी, प्रतिस्पर्धा र बसाइँसराइ जस्ता विविध कारणले थातथलो छाड्न बाध्य भएकाहरुको लागि आफ्नो पूर्खालाई स्मरण गर्ने उनीहरुप्रति श्रद्धाका साथ सम्मान गर्ने र आफू पनि सम्मनित हुने अवसर जुराएको छ । यसका लागि लेखकको प्रयासलाई सरहना गर्नु पर्छ ।
पुस्तकमा समाहित भएका तथ्यहरुलाई अनुसन्धात्मक ढाँचामा राखेर समीक्षा गर्ने आधारहरु प्रशस्त छन् । यद्यपि ति आधारहरुको सीमालाई आङ्कलन गर्ने, पुष्टि गर्ने परिधि निर्माण गर्नु त्यति सजिलो छैन । यसर्थ संस्कृतिका विषयहरु समय अन्तरालमा हुने प्रभाव र दवाबले परिवर्तन भइरहने हुँदा त्यही समय फेरोमा अभ्यासको जटील मोडमा बुझ्नु त्यति सहज छैन । संस्कृतिको यस प्रकार परिवर्तन चरित्र स्वभाविक हो । लेखकले संकलन गरेका तथ्यहरुमा शोध व्यक्तिलाई इङ्गित गरेर सामान्यीकरण गर्ने काम बाँकी राखेकोले आगमी प्रकाशनमा यसलाई फत्ते गर्ने आशा राख्न सकिन्छ । त्यसैगरी प्रस्तुत पुस्तकलाई ग्याबा वंशावली भन्दा पनि ग्याबा थरको अध्ययन भन्दा पुस्तकलाई न्याय गरेको ठहरिन्छ । अन्तमा प्रस्तुत पुस्तकसँग गाँसिएका धेरै पक्षहरुलाई ऐतिहासिक संयोगको रुपमा लिन सकिन्छ । प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन जुन पुर्खाैली थलो किपटभूमि चोथाङमा सम्पन्न हुनु । सम्मेलनले सात बुँदे चोथाङ घोषणापत्र जारी गर्नु । अझ भन्दा त्यही सम्मलेनको एउटा महत्वपूर्ण उपलब्धीको रुपमा प्रस्तुत पुस्तकको प्रकाशनलाई लिन सकिन्छ । यसले छरिएर रहेका ग्याबा थर बीच आपसी भातृत्व एवं सहअस्तीत्वको लागि सहकार्य गर्ने सेतुको कार्य गरेको छ ।