पञ्चकन्या गाउँपालिकाको घलेगाउँमा पाँचकन्या जात्रा सुरु हुँदै छ । पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थी र पञ्चमीमा लाग्ने गरेको मेला शनिबार सुरु हुन लागेको हो । मेला आईताबारसम्म जारी रहनेछ ।
मेलाको पहिलो दिन झाँक्रीद्वारा मन्दिरमा पूजाआजा, व्रतालुहरुले दियो र बत्ति बाल्ने चलन छ । साँझ जगाएको मादी बिहान घलेभञ्ज्याङको पँधेरामा ल्याई सेलाइन्छ । पञ्चमीका दिन बिहान पाँचकन्या मन्दिर परिसरमै रहेको सातकन्या थानमा बलि चढाउने प्रचन रहेको छ ।
पञ्चकन्या मेला व्यवस्थापन समितिका अनुसार जात्रा तयारीको लागि मन्दिर क्षेत्रमा सरसफाई र सजावट गरिएको छ । मेलामा झाँक्री नाच, राष्ट्रिय र स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । कार्यक्रममा रामजी खाँड, स्मृति गौतम लगायतका गायक, गायिकाहरु सहभागी हुनेछन् ।
पञ्चकन्या गाउँपालिकाको कात्तिके, राउटार, कविलास, बैयागाउँ, जैसीगाउँ, फूर्केसल्ला, नेवारपानी, कुवापानी, छापथोक, थप्रेक, आरुखर्क, घ्याङस्वाँरा लगायत स्थानबाट मानिसहरु मेला भर्न पुग्ने गरेको समितिको भनाई छ । यसैगरी शिवपुरी गाउँपालिकाका सिलामे, जेब्राङ, घ्याङ, गारे, सुनखानी र काठमाडौंबाट समेत मेला भर्न पुग्छन् ।