बागलुङको ताराखोला गाउँपालिका–४ छम्टुमा ‘ताराखोला बहुद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरबास ‘होमस्टे’ सञ्चालनमा ल्याइएको छ । घरबासको ‘होमस्टे’ बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरेको हो ।
मन्त्री लम्सालले ग्रामीण पर्यटनको प्रवद्र्धनमा ‘होमस्टे’ले टेवा पुग्ने र समृद्धिको प्रमुख आधारका रुपमा पर्यटनलाई लिइएको उल्लेख गर्दै गण्डकी प्रदेशलाई पर्यटकीय केन्द्र बनाइने बताए ।
छम्टुको सामुदायिक भवनसहित केही घरमा सञ्चालित ‘होमस्टे’मा २२ जना पाहुना राख्ने क्षमता छ । ‘होमस्टे’का लागि गण्डकी प्रदेश सरकारले रु १० लाख अनुदान उपलब्ध गराएको सञ्चालन समितिका अध्यक्ष पद्म खत्रीले बताए । उक्त बजेट पूर्वाधार तयारी, तालीम लगायतमा खर्च गरिएको छ । “होमस्टेमा ट्राउट माछा, स्थानीय कुखुरा, आलु, आटो, ढिँडोजस्ता परिकार खुवाउँछौँ’ अध्यक्ष खत्रीले भने ।
छम्टुमा स्थानीय व्यवसायीेले ‘रेम्बो ट्राउट’ माछापालनसमेत गरेका छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला उपयुक्त छ । ‘होमस्टे’ले ताराखोलाका अन्य पर्यटकीय गन्तव्यस्थलकोसमेत उजागर हुनेछ । प्राकृतिक स्रोतसाधन, रमणीय भूगोल, कला, संस्कृति, रहनसहन आदिले ताराखोला धनी छ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला अगाडि छ ।
यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुँडेलेकलगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता परम्परा र संस्कृति ताराखोलामा प्रचलित छन् । नेपालमा ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि ‘होमस्टे’ प्रभावकारी मानिएको छ ।
पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर ‘होमस्टे’का आकर्षण हुन् । यसअघि गाउँपालिकाको सहयोगमा वडा नं २ अर्गल र ५ मा ‘होमस्टे’ सञ्चालनमा आइसकेको छ । ‘होमस्टे’ सञ्चालनका लागि अघिल्लो आवमा रु पाँच लाखका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । यो वर्ष पनि क्षमता विस्तारका लागि थप बजेट उपलब्ध गराइने उनको भनाइ छ ।
पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्नसके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । बागलुङ सदरमुकामदेखि ५० किमी मोटर यात्रामा ताराखोला पुगिन्छ ।