मेगा बैंक नेपाल लिमिटेडको नवौं बार्षिक साधारण सभाले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । काठमाडौँमा शुक्रबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
आर्थिक बर्ष २०७५।०७६ सम्मको सञ्चित मुनाफा तथा वितरण योग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैँयाको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरेको थियो । सो सम्बन्धी प्रस्तावलाई पारित गर्दै साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको साधारण सभालाई जानकारी दिए ।
‘आफ्नो पुँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई बढावा दिन पोखरामा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको ‘ख’ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौँ । उक्त प्राप्ति प्रक्रिया सम्बन्धी कार्यहरु सम्पन्न भएपश्चात स्वीकृतिको लागि साधारण सभामा प्रस्ताव पेश गरिनेछ’, अध्यक्ष शाहले भने, ‘गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापीरुपमा २१० वटा भन्दा बढी रहन गई व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुनेछ ।’ स्थापनाको एक दशक नबित्दै समकालिन बैंकहरुमा उत्कृष्ट बन्न सफल भएकोमा गौरवान्वित भएको अध्यक्ष शाहले बताए ।
साधारण सभामा सिइओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्न सफल भएकाले बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको बताइन् । उनीले भनिन्,‘स्थापनाकालदेखि नै गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिँदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित बैंकको छवि बनाउन सफल भएकै कारण बैंकले यस बर्ष साना तथा मझौला व्यवसाय र लघुवित्त कर्जा गरी दुई विधामा उत्कृष्ट बैंकको रुपमा अन्तर्रा्ष्ट्रियस्तरको ‘एशिया मनी अवार्ड’ जित्न सफल भएको सिइओ खुञ्जेलीले बताइन् ।
गत आर्थिक बर्षमा २३ दशमलव ७१ प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको जानकारी दिँदै सिइओ खुञ्जेलीले मुनाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि बैंकले उत्तिकै प्राथमिकता दिएको बताइन् । सोही बमोजिम देशभरका प्रत्येक शाखाबाट एक–एक जना गरी १ सय २ जना असहाय छात्राहरु लगायत डोल्पा जिल्लास्थित उत्पीडित जनजाति समुदायको तर्फबाट एसईई परिक्षामा एक प्लस ग्रेड हासिल गर्न सफल विद्यार्थी छिरिङ दावा बुढामगरलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरी कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि शैक्षिक सामाग्री लगायत छात्रवृत्तिको व्यवस्था गरेको उनीले जानकारी दिइन् । ‘छात्रवृत्ति अभियानबाट आर्थिक अभावमा बालिकाहरुले बीचमै पढाई छाड्नुपर्ने बाध्यताको अन्त्य हुने हामीले विश्वास लिएका छौँ । गरिब, असहाय बालिकाहरुको उज्जवल भविष्यका लागि यो छात्रवृत्ति महत्वपूर्ण सावित हुनेछ ।’– सिइओ खुञ्जेलीले भनिन् ।
मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ । बैंकले आप्mनो व्यावसायिक दायरा वृद्धि गर्न मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि बैंकको सहायक कम्पनी ‘मेगा क्यापिटल मार्केट्स् लिमिटेड’ ले सञ्चालन अनुमति प्राप्त गरी २०७६ बैशाखबाट कारोबार सञ्चालन गरिसकेको छ । यसका अलवा धितोपत्र व्यवसायी÷शेयर दलालको कार्य गर्न बैंकको शत प्रतिशत स्वामित्व रहने गरी ‘मेगा स्टक मार्केटस् लिमिटेड’ को नाममा सहायक कम्पनी दर्ता भई सञ्चालन अनुमतिको प्रक्रियामा रहेको छ ।
मेगा बैंकले बैंकको आन्तरिक जीवनलाई मजबुत एवं सहयोगात्मक र भरपर्दो बनाउन मेगा बैंकका कर्मचारीका लागि आफ्नै ‘मेगा लर्निङ, रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर’ सुरुवात गरेको छ । यसका साथै, ग्राहकको चाहना र आधुनिक प्रविधिलाई मध्यनजर राख्दै अत्याधुनिक डिजिटल सूचना प्रविधि प्रणाली संचालनमा ल्याएको मेगा बैंकले जनाएको छ । जसले कारोबार सुरक्षित हुनुका साथै ग्राहकमैत्री सेवा विस्तार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।
ग्राहक तथा शेयरहोल्डर सेवा अन्तरगत मेगा बैंकले अस्पताल, एयरलायन्स, डिपार्टमेन्ट स्टोर, होटल, शिक्षालय तथा अन्य क्षेत्रमा मेगा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष सहुलियतको प्रबन्ध गर्ने प्रतिबद्धता अन्तरगत यस बर्ष ग्रान्डी अस्पताल, स्टार अस्पताल लगायतका अस्पताल र कतार एयरलायन्समा छुटको व्यवस्था गरेको छ ।