भ्रमण वर्षमा नयाँ हिमाल आरोहणका लागि खोलिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
चितवन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको शुरुआतमा नयाँ हिमाल आरोहणका लागि खुला गरिने बताएको छ । शनिबार चितवनमा पत्रकारहरुसँंग कुरा गर्दै उनले अहिलेसम्म आरोहणका लागि नखोलिएका हिमाल खुला गर्ने तयारी गरिएको बताए ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सरकारले आफ्ना मातहतका निकायलाई तयारी शुरु गर्न निर्देशन दिएको जानकारी गराउँदै उनले भने, ‘भ्रमण वर्षको तयारी तीव्र पारिएको छ, देशभित्र र बाहिर सबैतिर तयारीका लागि पत्राचारसमेत गरिसकिएको छ ।’ चालीस देशमा रहेका दूतावासमार्फत भ्रमण वर्षको प्रचारप्रसारको काम भइरहेको उनले जानकारी दिए ।

भ्रमण वर्षका अवसरमा पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, व्यवसायीबाट आकर्षक कार्यक्रम घोषणा गर्ने, पाहुनाको सत्कारका लागि जागरण पैदा गर्नेलगायतका काम भइरहेका उनले बताए । हिमाल आरोहणका लागि आउने पर्यटकका लागि सरकारले बीमा अनिवार्य गराउने, उद्धारका लागि सहज बनाउने, पथप्रदर्शक अनिवार्य लिएर हिँड्नुपर्नेजस्ता नियम बनाएको उनले जानकारी दिए ।

सन् २०२० को जनवरीमा सात प्रदेश र केन्द्रमा भव्यरूपमा कार्यक्रमको उद्घाटन हुने र विदेशमा रहेका दूतावासमा जनवरी ७ तारिखमा शुभारम्भ गर्ने तयारीका साथ सरकार अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए । फरक प्रसङ्गमा बोल्दै मन्त्री भट्टराईले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको बताए । विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको उनले जानकारी दिए ।

नेपाली सेना, विमानस्थल, भरतपुर महानगरपालिका र सरोकारवालाको सहभागितामा गठित समितिले यस विषयमा छलफल गरिरहेको उनको भनाइ थियो । नेपाली सेनालाई वैकल्पिक स्थानको प्रबन्ध भएसँगै प्रक्रिया शुरु हुने उहाँले विश्वास व्यक्त गरे । उनले भने, ‘सेना तयार छ, उचित स्थान तय भएसँगै उहाँहरु सर्नुहुन्छ, अनि काम शुरु हुन्छ ।’

भरतपुर विमानस्थलसँगैको सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थलको स्तरोन्नति गर्ने विषयमा छलफल चलिरहेको छ । विमानस्थलको स्तरोन्नतिसँगै यस क्षेत्रमा बनेका संरचना मापदण्डमा झारिने उनको भनाइ थियो । उनले भने, ‘बन्दै गरेका संरचना मादण्डअनुसार बन्नुप¥यो, बनिसकेकाको पुनःसंरचना हुनुप¥यो ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका