देश तथा विदेशमा हुने गरेको साङ्गितिक कार्यक्रमहरुमा कलाकारहरुको बढ्दो माग छ । यस्तै विभिन्न महोत्सव, मेला तथा चाडबाड हरुमा निकै व्यस्त हुने गायिकाहरू मध्ये मिलन अमात्य एक हुन् ।
गायिका अमात्यले पछिल्लोपटक ८ नोभेम्बरमा युएइस्थित कोइच अनलाइन खबर डट्कम र चन्द्र सूर्य युवा समूह आबुधावी युएईको संयुक्त आयोजनामा भएको”मिलन अमात्य लाइभ इन युएई”बृहत सांस्कृतिक कार्यक्रममा दर्जनौ गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिइन् ।
कार्यक्रममा गायिका अमात्यले आसैको गुलेलीमा, उहिलेको बाउबाजे ऋषिमुनी, विश्वसुन्दरी, गाला रातै, सिरिमा सिरि, जहिलेसम्म संसारमा लगायतका दर्जनौ गीत प्रस्तुत गरेर कार्यक्रमलाई सङ्गीतमय बनाएकी थिइन् ।
उनले जहिलेसम्म संसारमा … बोलको गीतबाट सुरु गरेकी थिइन् । गायिका अमात्यले आसैको गुलेलीमा गाउदा कार्यक्रमको माहोल तातिएको थियो ।
सोही कार्यक्रममा युएईमा कर्यरत नेपाली कलाकारहरू हरि मोक्तान, सन्दीप लामा, पदम खालिङ राई, उर्मिला तामाङ, रितु राई, हेलेन राउत, विवेक रानाभाट, अस्मी लामा, सञ्जिता तामाङ, मोहन सुनुवार, निश्च्ल उदाश, नैन कुमार श्रेष्ठ लगायतले आ- आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।
भारतको आसाममा जन्मेर पनि नेपाली गीत सङ्गीतलाई निरन्तरता दिएकी गायिका अमात्यले असामी भाषाका गीतदेखि लिएर नेपाली चलचित्रका गीतहरू गाएर साङ्गितिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल पनि भएकी छिन् । संगीतको कुनै जात, धर्म सिमाना हुँदै भन्ने गरेको ज्वलन्त उदाहरण अमात्यले दिएकी छिन् ।