तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा फ्रेण्डस क्लब प्रवेश गरेको छ । चन्द्रगिरी नगरपालिका-१३ नैकापमा रहेका खेलमैदानमा भएको खेलमा फ्रेन्डसले आयोजकलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।
कमजोर प्रदर्शन गरेका आयोजकले खेल सुरु भएको पाँच मिनटमा दुई गोल खाएको थियो । फ्रेण्डसले पहिलो हाफमै आयोजकलाई तीन गोल खुवाएको थियो । मिनटमै फ्रेन्डसका सन्जोग महर्जनले तेस्रो मिनेटमा गोल गर्दै खाता खोले भने शक्ति राईले पाँचौ मिनेटमै त्यो अग्रतालाई दोब्बर पारे । त्यस्तै रुमेश बर्तौलाले फ्रेण्डसका लागि २३ औं मिनेटमा तेस्रो गोल गरे ।
एकतर्फी देखिएका खेलमा फ्रेण्डसका लागि दोस्रो हाफमा प्रिजेन तामाङले ५६ औं मिनटमा चौथो गोल र निशान सुब्बा ७५ औं मिनटमा पाँचौं गोल गर्दै फ्रेण्डसको फराकिलो जित पक्का गरेका थिए । फ्रेण्डसले अब क्वाटरफाइनलमा उपाधिको दावेदार मध्ये एक रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत मंसिर २ गते सोमबारको खेल नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच हुने खेल संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।
दिपशिखा युवा समूह, चन्द्रागिरी–१३, पुरानो नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि मंसिर १४ गते हुनेछ ।