तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक शेर बहादुर बस्नेतले सोमबार गोसाइकुण्ड गाउँपालिका-६ धुञ्चेस्थित अस्थायी प्रहरी पोष्ट र सोही गापा-५ स्थित स्याफ्रुबेशीमा प्रहरी चौकीको नवनिर्मित भवनको एक कार्यक्रम विच सोमबार उदघाटन गरेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित उक्त दुई भवन उद्घाटन गर्दै नायव महानिरिक्षक बस्नेतले शान्तिपूर्ण समाज निर्माण र कुनैपनि आपराधिक कृयाकलाप हुन नदिइ सबै प्रकारका अपराधहरू नियन्त्रण गरी शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाई राख्न प्रहरी कृयाशील रहेको बताए । प्रहरी निरन्तर जनताको अपेक्षा अनुसार आफूलाई क्रियाशील बनाएपछि नागरिकसँगको सहकार्यको अवस्था सुदृढ नभए अपेक्षित सफलता हुदैन नायब महानिरिक्षक बस्नेतले भने ।
कार्यक्रममा गोसाइकुण्ड गाउँपालिकाको उपाध्यक्ष कार ग्याल्मो श्रेष्ठले पूर्वाधार युक्त प्रहरी भवन बन्यो तर यो अन्तर्राष्ट्रिय नाका हो, यहाँ विभिन्न आपराधिक क्रियाकलाय हुन सक्ने भएकाले गापाले प्रहरीसँग सहकार्य गरी अँझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा जानकारी दिए अनुसार अस्थायी प्रहरी पोष्ट धुञ्चेको नवनिर्मित ११ कोठे भएको साढे दुई तल्ले भवन १ करोड ५६ लाख ८२ हजार ८७ रुपैयाको लागतमा पक्की भवन बनेको हो । त्यसैगरी प्रहरी चौकी स्याफ्रुवेशी नवनिर्मित भवन ७ कोठाको दुई तल्लाको कुल १ करोड ५९ लाख २६ हजार आठ सय ९० रुपैया १४ पैसाको लागतमा सि.एल.कन्स्ट्रक्सन एण्ड संङ्गीता सप्लायर्सले निर्माण सम्पन्न गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएपछि सोमबार उदघाटन गरिएको हो ।
उक्त उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, प्रमुख सेनानी(कर्नेलं) सर्वेन्द्र नगरकोटी, अनुसन्धान अधिकृत निरञ्जन घिमिरे, वडाध्यक्ष पालिका उपाध्यक्ष कर ग्याल्मो श्रेष्ठ नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ पत्रकार बुद्धिजीवि समाजसेवी लगायत विभिन्न सरोकार वालाहरुको उपस्थितिरहेको थियो ।