बलात्कारीलाई साढे ११ वर्ष कैद

पत्रपत्रिका
पत्रपत्रिका
काठमाडाैं

बैतडीकी एक किशोरीलाई बलात्कार गर्ने दुई युवकलाई सर्वोच्च अदालतले साढे ११ वर्षका दरले कैद सजाय तोकेको छ । पक्राउ परेका सागर भट्ट र अमर अवस्थीलाई कैद सजायसँगै पीडितलाई साढे १० लाख रुपैयाँ भराउन सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको इजलासले गत पुस ७मा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै आरोपितहरूलाई दोषी ठहर गरेको थियो । सोमबार उनीहरूमाथि सजाय निर्धारण भएको हो । घटनामा जिल्ला अदालत बैतडीले १३ वर्ष सजाय र ५० हजार क्षतिपूर्तिको फैसला गरेको थियो, जसमा बलात्कारको आरोपमा ८ वर्ष र सामूहिक बलात्कारको आरोपमा थप ५ वर्ष सजाय सुनाइएको थियो । पछि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्टाई आरोपितहरूलाई निर्दोष भनी फैसला गरेको थियो । एसएलसी दिन सदरमुकाम आएकी किशोरी २०६८ चैत ९मा परीक्षाकै बेला बलात्कृत भएकी थिइन् । बलात्कारपछि नालीमा फालिएकी उनको प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्राध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए, तर प्रहरीले लिन मानेन । पछि विद्यार्थीहरूले जुलुसै निकाले र बजारै बन्द गरे । अनि मात्रै आरोपितलाई प्रहरीले पक्राउ गर्‍यो र मुद्दा चलायो । सागर भनिने युवक जगन्नाथ पुस्तक पसल र अमर चाँदनी फोटो स्टुडियोका सञ्चालक हुन् ।

जिल्लाको फैसला पुनरावेदन अदालतबाट उल्टिएपछि पीडितले कान्तिपुरमार्फत न्यायपरिषद्का अध्यक्ष तथा सदस्यहरूलाई खुलापत्र लेख्दै न्यायाधीशहरूमाथि छानबिन र सजायको माग गरेकी थिइन् । त्यतिबेला पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशहरू नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीले विवादास्पद फैसला गरेका थिए । शाही ‘खराब आचरण’ को फरक आरोपमा केही दिनअघि मात्रै बर्खास्तको सिफारिसमा परेका थिए । राजभण्डारी भने हाल पनि उच्च अदालतमै न्यायाधीश छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका