ओली र दाहालबीच कार्यविभाजनको सवाल : हटाइने मन्त्रीहरूबारे लगभग टुंगो

पत्रपत्रिका
पत्रपत्रिका संवाददाता
काठमाडाैं

मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको विषय पनि उठेको छ । विगतका सहमतिप्रतिको बुझाइ फरक-फरक हुन थालेपछि मन्त्रिपरिषद् हेरफेरसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या हुनुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनबारे दुई अध्यक्षबीच लगभग सहमति जुटिसकेको छ ।सँगै कार्यविभाजनको पनि कुरा आएपछि मन्त्री हेरफेरको विषय नै केही पर धकेलिएको स्रोतले जनायो । ‘अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनसँगै सकेसम्म सबै विषयमा एकमुष्ट सहमति खोज्ने पक्षमा हुनुहुञ्छ, त्यसो गर्दा पहिलेदेखि नै छलफलमा रहेको कार्यविभाजनको विषय पनि पर्ने नै भयो,’ दाहालनिकट एक नेताले भने, ‘तर प्रधानमन्त्रीज्यू किस्ताकिस्तामा निर्णय गरिरहनुभएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा पनि दुई अध्यक्षको कार्यविभाजन कसरी गर्ने भन्ने विषयमा कुराकानी भएको थियो । दुई अध्यक्षको भेटअघि दाहालसँग भेटेका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ पार्टीमा आफ्नो पोजिसन कस्तो हुने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा गर्ने मनस्थिति लिएर बालुवाटार छिर्नुभएको हो । मन्त्रीहरूको नामावलीबारे त छलफल हुने नै भयो ।’

अध्यक्षद्वयबीच गत साउन अन्तिम साता दाहालले पार्टी र प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउने सहमति भएको थियो । त्यतिखेर ओलीले उक्त सहमति तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । ओलीको प्रतिबद्धतापछि दाहालले पार्टी एकीकरणअघि दुई अध्यक्षले आवश्यकताका आधारमा पालैपालो सरकारको नेतृत्व गर्ने गरी भएको सहमति ‘पुरानो भइसकेको’ अभिव्यक्ति दिएका थिए । ‘दुई अध्यक्ष भएपछि स्वाभाविक रूपमा पार्टी एकले र सरकार अर्कोले चलाउने कुरा हुञ्छ, त्यहीअनुसार दाहाल पार्टी काममा सक्रिय पनि हुनुभएको छ,’ दाहालनिकट नेताले भने, ‘दुई अध्यक्षबीचको यो गाँठो जति छिटो फुक्छ, त्यति नै छिटो अरू विषयमा सहमति हुञ्छ ।’  आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका