दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ आफ्नो समूहमा दोस्रो जित हात पारेको छ । मंगलबार मालेमा भएको खेलमा माल्दिभ्सले गुआममाथि ३–१ को जित निकालेपछि दोस्रो जित हात पारेको हो ।
छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको माल्दिभ्सले आफ्नो पहिलो जित पनि गुआम विरुद्ध नै हात पारेको थियो । त्यतिबेला माल्दिभ्सले गुआमलाई उसकै घरमा १–० ले हराएको थियो ।
मंगलबार भएको खेलको २३औं मिनटमा माल्दिभ्सका अलिले पहिलो गोल गरेको थियो । त्यसैगरी गुआमका ट्रेभिस निक्लवले ३८औं मिनटमा आत्मघाती गोल गरेपछि माल्दिभ्सले अग्रता दोब्बर भएको थियो ।
गुआमका लागि जोन मेटकिन्सले खेलको ४९औं मिनटमा पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेको थियो । खेलको इन्जुरी समयमा माल्दिभ्सका अलि अश्फाकले १ गोल थपेपछि खेल माल्दिभ्सको पक्षमा गयो ।
यस जितसँगै ५ खेलबाट ६ अंक जोडेको माल्दिभ्स चौथो स्थानमा छ । अंकविहीन गुआम भने पुछारबाट पहिलो स्थानमा छ । शिर्ष स्थानमा १२ अंक जोडेको सिरिया छ भने ७–७ अंक जोडेका चीन र फिलिपिन्स क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।