धनगढीमा राष्ट्रिय सङ्गीत महोत्सव सम्पन्न

धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा असार ६ र ७ गते ‘राष्ट्रिय सङ्गीत महोत्सव’ सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुप इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा भएको थियो ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्दै भाषा, साहित्य, कला तथा संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन गर्ने बताए ।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले प्रज्ञा–प्रतिष्ठानका गतिविधिलाई बढीभन्दा बढी गाउँबस्तीमा लैजाने उद्देश्यले रहेको बताए । श्रेष्ठले भने, ‘यो कार्यक्रम त्यसैको सिलसिला हो ।’

प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोक राईलेयो महोत्सव अन्यत्रका महोत्सवभन्दा पृथक रहेको उल्लेख गरे । राज्यले सुदूरपश्चिमलाई विभेदका आँखाले हेरिरहेको भन्ने जनगुनासा आइरहेका बेला हामीले यस ठाउँलाई रोजेका हौं, उनले भने ।

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, सांसद रतन थापा, सांसद पूर्णा जोशी, धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वड, महोत्सवका स्थानीय संयोजक भुवन रिजालले धनगढीमा यस प्रकारको महोत्सव आयोजना गरेर सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानले प्रदेशस्तरमै ऊर्जा सञ्चार गरेको विचार व्यक्त गरेका थिए ।

महोत्सवमा सात वटै प्रदेशका कलाकारहरूले भाग लिनुभएको थियो ।

विविध सांस्कृतिक झाँकीसहित आरम्भ भएको महोत्सवमा प्रदेश एकबाट सञ्जय तुम्रोक, दुईबाट विश्वनाथ झा, आकाश थापा, तीनबाट लक्ष्मी गुरुङ, गण्डकीबाट सन्तोष बस्याल, पाँचबाट विपिन घिमिरे, कर्णालीबाट जीवन बडु, कृष्ण सिराडी, सङ्गीता चौधरी, ध्वज महरा, मन्जु महता, नीरज बिक, सुशीला बुढाथोकी र डिल्लीराज पन्तले गीत प्रस्तुत गरिएको थियो ।

अतिथि कलाकारका रूपमा प्राज्ञ सभा सदस्य चाँदनी मल्ल, जीवन शर्मा, लोचन भट्टराई र अर्जुन बस्नेतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

महोत्सवको दोस्रो दिन ‘नेपाली गीत–सङ्गीतमा सुदूरपश्चिमको योगदान’ विषयमा सङ्गीत विमर्श आयोजना गरिएको थियो ।

प्राज्ञ सभा सदस्य नरेन्द्र रेग्मीको सभापतित्व र खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्गीत अन्वेषक हेमन्त विवशले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि डा. पुष्करराज भट्टले टिप्पणी गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका