प्लास्टिक सोहोरेर समाजसेवा

भद्रपुर

आफू बसोबास गर्ने शहरभरि प्लास्टिकको फोहर बढेपछि चिन्तित बनेका झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ निवासी पूर्व माओवादी लडाकू गणेश ढुङ्गाना सरसफाइमा एक्लै कस्सिएका छन् । असल कार्यको शुरुआत एक व्यक्तिबाटै हुन्छ भने झैं उनको दुई साताको प्रयासबाटै झापाको बुट्टाबारी बजार प्लास्टिकको फोहरमुक्त भएको छ ।

झापाको सबैभन्दा ठूलो व्यापारिक शहर हो विर्तामोड । शहरको पूर्वी किनारामा छ बुट्टाबारी बजार । विर्तामोडको वडा नं ६ र अर्जुनधाराको वडा नं ११ को आधाआधा भाग समेटिएको दश हजारभन्दा बढी जनघनत्व भएको बुट्टाबारी बजारले आधुनिक शहरको स्वरुप लिएको छ । ढुङ्गाना यही बुट्टाबारीलाई सफा बनाउने अठोट लिएर एक्लै सरसफाइमा होमिएका छन् ।

हरेक बिहान छ बजे दुई वटा ठूलो बोरा काँधमा बोकेर ढुङ्गाना घरबाट निस्कनुहुन्छ र बुट्टाबारी बजारको तीन किलोमिटर वृत्त दुई घण्टा चहारेर प्लास्टिकका फोहर सङ्कलन गर्छन् । एउटा बोरामा प्लास्टिकका बोतल, बट्टा र भाँडाहरु सङ्कलन गर्छन् भने अर्कोमा प्लास्टिकका झोला र टुक्राहरु बटुल्छन् । उनले विगत दुई सातायता एकसय बोरा प्लास्टिकका विभिन्न प्रकारका बोतल र बट्टाहरु बटुलेर आफ्नै घरको आँगनमा थुपारिएको छ ।

एक्लै हरेक दिन प्लास्टिक खोज्दै आफ्नो घर र दोकान सामुन्ने फोहर ढलमा हात घुसारेर प्लास्टिक बटुलेको देख्दा शुरुशुरुमा स्थानीय बासिन्दाले उनलाई पागल भएको समेत ठाने । बजारमा तीन तला पक्की घर र चल्तीको पसल भएको खानलाउन मनग्ये पुग्ने व्यक्ति यसरी फोहर नालीहरुमा प्लास्टिक बटुल्दै हिँडेको देख्दा ढुङ्गानाका नातागोता र साथीसङ्गी समेत परिवारको बेइज्जत गरेको भन्दै झस्किए । उनलाई राँची लैजानु पर्ने सल्लाह समेत आउन थाल्यो तर, उनी हतोत्साही भएन । जतिसुकै अप्ठेरो अवस्थामा पनि अभियानमा दृढतापूर्वक लागिरह्यो । आफ्नो उद्देश्य र अभियानबारेमा विस्तारै सबैलाई बुझाएपछि अहिले सबै शहरवासी उनको प्रशंसक मात्र बनेका छैनन्, अभियानमा साथ दिन तयार भइसकेका छन् ।

परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ भन्ने सोच बोकेर एक्लै शहर सफा बनाउन कस्सिनु भएको गणेश ढुङ्गानामा सानैदेखि क्रान्तिकारी भावना थियो । विसं २०५९ साउन १९ गतेदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता हुनुभएको उनी झापाको चुलाचुलीमा रहेको तत्कालीन जनमुक्ति सेना नेपालको प्रथम डिभिजनको एक कम्पनीमा लडाकू थिए । त्यहाँ उहाँको नाम मौसम थियो । शान्ति प्रक्रिया अनुसार सेना समायोजनका क्रममा आफूले पाउने सुविधा सबै शहीद परिवारको कोषमा जम्मा गरेर उहाँ रित्तो हात घर फर्केको थियो ।

पूर्वपश्चिम राजमार्गको छेउमै उनको घर छ । बसमा यात्रा गर्नेहरुले बान्ता गरेको थैलो र पानी पिएको बोतल झ्यालबाट फुत्त फुत्त फालेको दृश्य हरेक दिन घर अगाडि देखेपछि उहाँमा बेचैनीको झड्का लागेको रहेछ । ‘त्यसपछि मैले आफ्नै घर अगाडिको नाली हेरें, त्यहाँ प्लास्टिकका बोतलले जाम भएको पाएँ,’ सरसफाइ अभियानकर्मी ढुङ्गाना भन्छन्– ‘बजार डुलेर हेरें । व्यापारी र घरधनीहरु प्रयोग भइसकेको प्लास्टिकको बोतल र बट्टालाई सडक र नालीतिर जथाभावी फ्याँकिदिँदा रहेछन् ।’ शहरको यस्तो कुरुप दृश्य देखिसकेपछि उनमा ‘अब केही गर्नै पर्ने भयो भनेर एक्लै भए पनि सरसफाइमा लाग्ने जोश पैदा भएको थियो ।’

माटोमुनि गाड्दा सयौं वर्षसम्म नकुहिने, डढाउँदा विषाक्त ग्यास निस्कने र चुपचाप बस्दा शहरलाई नै फोहरले ढाक्ने भए पछि असल नागरिकको जिम्मेवारी बोध गरेर आफू अभियानमा होमिएको बताउने ढुङ्गानाले भने– ‘मेरो दुईवटा प्रष्ट उद्देश्य छन्– एउटा सरसफाइका लागि जुट्न नगरवासीलाई ब्युँझाउने र अर्को भनेको प्लास्टिकलाई रिसाइकल गरेर उपयोगी सामग्री बनाउने उद्योग खोल्न प्रेरित गर्ने ।’ उनले अहिले सङ्कलन भइसकेको एकसय बोरा प्लास्टिकका बोतल र बट्टा बिक्री गरेर अनाथ बालबालिकाहरुलाई सहयोग स्वरुप प्रदान गर्ने बताए ।
विर्तामोड–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले एक व्यक्तिको सोचले सिङ्गो समाजमा परिवर्तन ल्याउन सकिँदोरहेछ भन्ने एउटा बलियो उदाहरण प्रस्तुत गर्न अभियानकर्मी गणेश ढुङ्गाना सफल भएको बताउँछन् । सफा नगर बनाउने ढुङ्गानाको अभियानमा साथ दिन आफू पनि तयार रहेको बताउँदै वडाध्यक्ष कन्दङ्वाले भने– ‘सधैं एक व्यक्तिले सफा गरिरहने र हजारौं नगरवासी फोहर गरिरहने कुरा राम्रो भएन । अब सबैले सफा अभियानमा जुट्नुपर्छ भन्ने जागरण ल्याउन ढुङ्गानाजी सफल भयो ।’

विर्तामोड र अर्जुनधारा नगरपालिकाको हिस्साको रुपमा रहेको बुट्टाबारीमा ढुङ्गानाले पागलको आरोप खेपेर ल्याएको सरसफाइ जागरणको सकारात्मक प्रभाव वरपरका शहरमा समेत फैलिन थालेको जुनकिरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार बताउँछन् । ‘दुर्गाँन्धित ढलको नाली र बाटोमा प्लास्टिकका फोहर टिप्दै हिँड्नु सामान्य कुरा होइन,’ प्रधानाध्यापक परियारले भने – ‘उनको जस्तो सामाजिक सोच थोरैमा मात्र हुन्छ । धेरैजसो मानिस आफ्नो घरभित्रको फोहर सफा गर्न समेत नगरपालिका आइदिनुपर्छ भन्ने सोच्छन् । उहाँ पूरै शहरभरिको फोहर आफैं सफा गर्दै हिँड्नुहुन्छ ।’

अर्जुनधारा नगरपालिका वडा नं ११ का वडासदस्य मोहनकुमार योगीले नगरपालिकाले ल्याउन नसकेको जागरण अभियानकर्मी गणेश ढुङ्गानाले बोरामा प्लास्टिक बटुलेर ल्याउनु भएको बताउँछन् । ‘फोहरको मुख्य कारण नै प्लास्टिक बनिसक्यो, अभियानकर्मी ढुङ्गानाको कामबाट मैले पनि प्रेरणा प्राप्त गरेको छु,’ उनले भने– ‘अब नगरको सबै भागमा सरसफाइ अभियान चलाउने बारेमा नगरपालिकामा छलफल चलाइरहेका छौं ।’

सिंहदरबार गाउँगाउँमा आइपुगेको अवस्थामा एक नागरिकले हरेक दिन शहरभरि प्लास्टिकका बोतल बटुल्दै हिँड्नु पर्ने अवस्था आउनु बिडम्वना भएको धारणा व्यक्त गर्दै अर्जुनधारा मेलमिलाप समितिका सदस्य गङ्गा खरेल नगरपालिकाहरुले सरसफाइ अभियानको अगुवाइ गर्नुपर्ने बताउँछन् । उनले भने– ‘क्रान्तिकारी विचार मात्र होइन, व्यवहार समेत क्रान्तिकारी भएको व्यक्ति हुन् गणेश ढुङ्गाना । उनको अभियानलाई सम्मान गर्ने हो भने सबैले बोरा बोकेर निस्कनु पर्छ ।’

बुट्टाबारी बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका गौतम हार्डवेयरका सञ्चालक विष्णु गौतम विर्तामोड र अर्जुनधारा नगरपालिका दुबैले शहर बजारको सरसफाइमा ध्यान नदिएको गुनासो सुनाउँछन् । चार वर्षअघि स्थानीय व्यवसायीहरुले बुट्टाबारीमा फोहर जम्मा गर्न सिमेन्टको रिङ राखेका तर, त्यसबाट राम्रो नतिजा नआएको उनी स्मरण गर्छन् । ‘गणेशजी जब बोरा बोकेर प्लास्टिक बटुल्न थाल्यो, अनि मात्र नगरपालिकाले डस्टबिन किनिदिने र फोहर उठाउन ट्र्याक्टर पठाउने आश्वासन दिएको छ,’ गौतम बताउँछन् ।

स्थानीयवासी निकिता किराना पसलका सञ्चालक सुनिल जैनले नगरपालिकाको फोहर बोक्ने गाडी नआउने भएकाले आफूले पसलको प्लास्टिकजन्य फोहर थुपारेर राखिदिने गरेको र बिहानै आएर गणेशजीले लैजाने गरेको बताउँछन् । उनी भन्छन्– ‘नगरपालिकाले फोहर लिन गाडी पठाइदिए हुने थियो । दिनैपिच्छे गणेशजी बोरा बोकेर आउँदा मलाई नै लाज भइसक्यो ।’

माओवादी लडाकूबाट फर्केर घर आएपछि अभियानकर्मी ढुङ्गानाले केही रचनात्मक र नौला कामहरु सम्पन्न गरिसकेको छ । पर्यटन प्रवद्र्धनका लागि उहाँले झापादेखि ताप्लेजुङको पाथिभरा देवीको मन्दिरसम्म पैदल यात्रा गर्नुभएको छ भने आफ्नै स्वर, सङ्गीत र शब्दमा भूकम्पले बासै उठायो र पाउँपाथिभरा उत्तरगङ्गा बोलका दुई गीति एल्बम बाहिर ल्याइसकेको छ । अर्जुनधारा–६ मा चन्दा मागेर दुर्गा मन्दिर निर्माण गरिएको छ । अर्जुनधारा–६ मै रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित अशक्त र असहाय बालबालिकाका लागि भरणपोषणका सामग्री जुटाइरहेको छ ।

ढुङ्गाना अहिले सरसफाइ अभियानकै कारण सर्वत्र प्रशंसित छन् । उनी सञ्चारमाध्यमको नजरमा पनि परिसकेको छ । घरको मूली मान्छे एकाबिहानै चोकबजारको नालीतिर बोरा बोकेर प्लास्टिक बटुल्दै गरेको खबर पहिलोपल्ट सुन्दा अभियानकर्मी ढुङ्गानाकी पत्नी सवितालाई पनि ‘पागल भए कि क्या हो’ भन्ने ठूलो डर लागेको रहेछ । यतिबेला पतिको सामाजिक कार्यलाई भरपूर हौसला दिँदैआएको बताउँदै सविता भन्छिन् – ‘घरकै मान्छे, मैले त अभियानलाई शुरुमा बुझ्न सकिनँ । समाजमा चेतना आउन त सजिलो कहाँ हुँदोरहेछ र !

तपाईको प्रतिक्रिया

पत्रपत्रिका