ऊर्जामा ढुक्क भएर लगानी गराैंः अर्थमन्त्री खतिवडा

काठमाण्डौं
फाइल तस्बीर

अर्थमन्त्री डा. युवराज खतिवडाले ढुक्क भएर नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय लगानीकर्तालाई आग्रह गरेको छ ।

पावर समिट, २०१९ को ‘नेपालको ऊर्जा क्षेत्रमा लगानी र क्षेत्रीय विकास’ विषयक सत्रलाई आज सम्बोधन गर्दै उनले विदेशी बैंक तथा अन्तरराष्ट्रिय वित्त साझेदारलाई ऊर्जामा लगानीका लागि आग्रह गरेको हो । नेपालमा इन्धनमार्फत उत्पादन हुने ऊर्जाको खपत धेरैमात्रामा रहेकाले यसलाई केही वर्षभित्रै १५ प्रतिशतले कम गर्ने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यअनुसार नै नेपालमा विकासका काम कारवाही अगाडि बढिरहेकाले नवीकरणीय ऊर्जामा लगानी गरेर प्रतिफल लान कुनै समस्या नभएको उनको भनाइ थियो । “म विदेशी लगानीकर्तालाई नेपालको समग्र ऊर्जामा लगानी गर्न आह्वान गर्दछु । लगानीको प्रतिफल फिर्ता लैजान नेपालले सहज वातावरण सिर्जना गरेको छ । कुनै समस्या छैन ।”

सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गरिरहेको जानकारी दिँदै मन्त्रीले आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई बढाएर एक हजार ५०० युनिट बनाउने योजना रहेको उनले जानकारी दिए । नेपालका बैंकले उत्पादनमूलक क्षेत्रमा गरेको लगानीले गति लिँदै गरेकाले पनि निजी बैंक तथा वित्तीय संस्थालाई अहिलेकै गतिमा लगानी विस्तार गर्न आग्रह गरे । “नेपालको जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष व्यवस्था गर्न लागिएको छ । यसका लागि सरकारले स्वदेश तथा विदेशमा सोहीअनुसार लगानी जुुटाइनेछ”, अर्थमन्त्री डा. खतिवडाले भने ।

एशियाली पूर्वाधार विकास बैंकका महानिर्देशक यी यिन पाङले नवीकरणीय ऊर्जामा लगानी विस्तार गर्ने योजनामा रहेको बताए । उनले नेपालको जलविद्युत् क्षेत्रका तीन वटा आयोजनामा लगानी गरिरहेको र निकट भविष्यमै ठूला आयोजनमा लगानीका लागि तम्तयार रहेको जानकारी दिए ।

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका बैंकले जलविद्युत्मा लगानी विस्तार गरिरहेको जानकारी दिए । कार्यक्रममा लगानीकर्ता कुुशकुुमार जोशीले नेपालमा जलविद्युुत्का आयोजना समयमा नै नसकिने समस्या रहेको गुनासो गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया