नेपाल तामाङ घेदुङ साउदी अरेबिया पूर्वी क्षेत्रीय समिति दमामले सन् २०२० को जनवरी २४ तारीख नेपाली पात्रो अनुसार माघ १० गते सोनाम ल्होछार मनाउने भएको छ ।
घेदुङले खोबारस्थित कोर्नेसमा नोभेम्बर २२ तारीखमा बसेको एक भेलाले स्थानीय कलाकारहरुको साथमा बृहत सांस्कृतिक कार्यक्रम गरी सोनाम ल्होछार मनाउने घोषणा गरेको अध्यक्ष बिजय लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार संरक्षक जेन लामाको संयोजकत्वमा उपाध्यक्ष शम्सेर तामाङ, कोषाध्यक्ष लालबहादुर लामा, सुवास मोक्तान तामाङ, सदस्य रहने गरी ल्होछार मुल समारोह समिति बनाई महत्त्वपूर्ण विभिन्न बिभागको संयोजक समेत तोकिएको छ ।
उक्त समितिले आर्थिक संकलन, व्यानर तथा मञ्च व्यवस्थापन, कला र संस्कृति, खाजा नास्ता, यातायात व्यवस्थापन लगायतको संयोजक तोकेको उपाध्यक्ष तामाङले बताए । समय थोरै छ, डिसेम्बर पहिलो वा दोस्रो हप्तातिर पुनः बैठक बसेर सबै जिम्मेवारी बाँडफाँड गरेर तीब्र तयारीमा लाग्छौ उपाध्यक्ष तामाङले भने ।
घेदुङका संरक्षण तथा मुल समारोह समितिका संयोजक लामाले साउदी अरेबियामा रोजगारीका लागि आइपुगेका विभिन्न जिल्लाका तामाङहरुलाई एकीकृत गराउने उदेश्य र तामाङ कला, संस्कृति, भाषा, धर्म लगायतलाई प्रवर्द्धन तथा सम्बर्द्धन गर्ने हेतुले ल्होछारमा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाउन लागिएको बताए ।
सन् २०१९ जुन ६ तारीखमा गठन भएको नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति दमामले नेतृत्व विकास, कला तथा संस्कृति सम्बन्धि गोष्ठी, भाग्यशाली चिठ्ठा कार्यक्रम, मृगौला फेल भएकालाई आर्थिक सहयोग लगायत गरिसकेको छ ।