दिक्तेल बजारमा खानेपानीको काम शुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
खोटाङ

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम शुरु गरिएको छ ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत लगानी रहने आयोजनाबाट दिक्तेल, सोल्मा र बाम्राङका एक हजार ४९ घर स्थानीयवासीलाई प्रशोधन गरिएको स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यसाथ आयोजनाको काम शुरु गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको माथिल्लो भेगमा मुहान रहेको रम्बाखोला–माझखोलाको पानी तानेर वितरण गर्नेगरि आयोजनाको काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । १८ महिनाभित्र पूरा गर्ने लक्ष्यकासाथ गत चैत १४ गते सांसद विशाल भट्टराईले उक्त आयोजनाको शिलान्यास गरेको थियो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त आयोजनाको हालसम्मको प्रगतिका विषयमा जानकारी लिन दिक्तेलबजारका उपभोक्ताले मङ्गलबार आयोजनास्थलको अनुगमन गरेको छ । अनुगमनमा गएका उपभोक्तालाई आयोजनाका परामर्शदाता पिइए–बिएन जेभीका कन्ट्रक्सन सुपरभिजन इञ्जिनीयर भोलाप्रसाद चौधरीले हालसम्म भएको प्रगतिका बारेमा जानकारी दिएको थियो ।

हालैबाट शुरु गरिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम आशिष निर्माण सेवाले गरिरहेको छ । आयोजनाका लागि सोल्मास्थित तीनबोटे र दिक्तेलस्थित अल्छेढुङ्गामा पानी प्रशोधन गर्ने ‘ट्रिटमेन्ट प्लान्ट’ निर्माणको काम भइरहेको छ । दिक्तेल बहुमुखी क्याम्पसभन्दा केहीमाथि थामखोरे डाँडामा १७५ घनमिटर र हाटडाँडामा ५० हजार घनमिटर पानी सङ्कलन गर्ने ट्याङ्की निर्माणको काम भइरहेको छ । योसँगै १८ किलोमीटर टाढा रहेको मुहानबाट पानी ल्याइने मुख्य पाइपलाइनको काम पनि धमाधम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

हालसम्म कामको प्रगति सुस्त देखिए पनि निर्धारित समयमै आयोजनाको काम पूरा हुने परामर्शदाता इञ्जिनीयर चौधरीले बताए । इञ्जिनीयर चौधरीका अनुसार उक्त आयोजनाको हालसम्म नौ दशमलव पाँच प्रतिशत काम सम्पन्न भएको छ ।

लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका बजारवासी रु २२ करोड ५५ लाख ५८ हजार लागतमा पूरा हुने आयोजनाको काम शुरु भएपछि नगरवासी हर्षित भएका छन् । नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेलबजारमा हिउँद÷वर्षा बाह्रै मास खानेपानीको समस्या देखिएपछि शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम हो ।

दिक्तेल बजारमा विस्तार गरिएको पुरानो खानेपानी योजनाको धारामा कहिले पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायतकासमस्या वर्षौंदेखि रहेको उपभोक्ताको गुनासो छ । यति मात्र नभई उपभोक्ता समितिका केही पदाधिकारीले आफ्ना नजिकका व्यक्तिको घरमा तीन÷चार वटासम्म धारा जडान गरेको र उनीहरुका धारामा चौबीसँै घण्टा पानी आउने बनाएकाले आफूहरुलाई थप समस्या भएको उपभोक्ताले आरोप लगाएका छन् ।

दिक्तेल बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट विशेष पहल भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए । “खानेपानी विस्तारका लागि भर्खरै मात्र ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी डेढ वर्षभित्र दिक्तेल बजारमा देखिएको खानेपानीसम्बन्धी सबै समस्या समाधान गरेर स्वच्छ पानी वितरण गरिनेछ ।”

दिक्तेल बजारमा सञ्चालित पुरानो योजनाबाट करिब ८०० वटा धारा वितरण गरिएको छ । पुरानो योजनाको धारामा पानी नआएपछि बजारवासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका