फोनिजको आयोजनामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तरक्रिया सम्पन्न

सैलुङअनलाइन संवाददाता
पोखरा

कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।

पोखरामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको अन्र्तक्रियामा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनको समाचार सङ्कलन गर्दा निर्वाचन आचारसंहिताको पालना गरेर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए । जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा राजनीतिक दल, उम्मेद्वार, नागरिक समाज, मतदाता र सञ्चारकर्मीको काम कर्तव्य र दायित्वलगायतका विषय समेटिएका थिए । केसीले उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको र निर्वाचन, स्वच्छ र मर्यादित बनाउने जिम्मेवारी सबैको रहेको समेत बताए ।

कार्यक्रममा पत्रकार भरत कोइरालाले निर्वाचनको रिपोर्टिङ गर्दा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता र जिम्मेवारीका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया