कास्कीको मादी गाउँपालिका- २ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पुर्याइएपछि खुशीयाली छाएको छ ।
वि.सं. २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत् बत्ती बाल्दै आएका स्थानीयवासीले मागअनुसारको बिजुली बाल्न पाएका थिएनन् ।
लघुजलविद्युतले गाउँलाई उज्यालो दिए पनि ठूला विद्युतीय सामग्री सञ्चालन गर्दा पावर नधान्ने तथा पटक-पटक बत्ती गइरहने समस्या भोग्दै आएका स्थानीयवासी प्राधिकरण लाइन विस्तारसँगै खुशी भएको सो वडाका वडाध्यक्ष एकजङ्ग गुरुङले बताए ।
वडाका १८३ घरधुरीमा नै बत्ती पुर्याउने योजनाअनुसार अधिकांशमा लाइन जोडिसकिएको बताउँदै अध्यक्ष गुरुङले भने, ‘गाउँलेमा अहिले खुशीको सीमा छैन, बिजुलीको समस्याबाट हैरानी पाएका हामीहरुले लामो प्रयत्नपछि बत्ती बाल्न पाएका छौँ ।’
गत आ.व. २०७५/७६ मा घ्याब्राङ, सेतीखोला रोँहीगाउँसम्म प्रसारण लाइन पुगेकामा चालू आ.व.को चार महिनामा पाँच किलोमिटर लाइन विस्तार गरेर माथि ताङतिङसम्म प्रसारण लाइन पुर्याइएको हो ।
गाउँका धेरै घरमा अहिले होमस्टे (घरबास) शुरु भएको छ । गाउँमा पाहुना बढ्दै जाने तर बत्ती नभएर अँध्यारोमा राख्नुपर्ने समस्या हटेकाले पर्यटकलाई समेत सहज हुने विश्वास स्थानीयवासी गुमान गुरुङले व्यक्त गरे ।
प्राधिकरण लेखनाथ शाखा प्रमुख पवन पौडेलले ताङतिङ नजिकको मादी वडा नं. १ का सोधा, खिलाङ, पार्चे र सिक्लेसमा समेत केही महिनाभित्रमा केन्द्रीय प्रसारण लाइन पुर्याइने जानकारी दिए ।