राससको प्रगति शतप्रतिशत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले तोकिएको जिम्मेवारीमा राससले शतप्रतिशत प्रगति हासिल गरेको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा प्रथम चौमासिक समीक्षा’ कार्यक्रममा राससको प्रगति विवरणबारे जानकारी दिँदै उहाँले राससको आमूल प्रगतिका लागि मन्त्रालयले नीतिगत र कानूनी सहयोगको अपेक्षा गरे ।

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष अधिकारीले रासस पुरानो भत्केको भवनबाट एकदुई महिनाभित्रै भूकम्प प्रविधिमैत्री नयाँ भवनमा सर्न लागेको जानकारी दिँदै नयाँ भवनमा बस्ने प्रबन्ध मात्रै नभई काम गर्ने उचित वातावरण पनि मिल्ने विश्वास व्यक्त गरे ।

राससको समाचार र तस्वीर सङ्कलनका लागि समाचारदाता र फोटो पत्रकारसँगसँगै जानुपर्ने जगजाहेर भए पनि अन्तरराष्ट्रिय एवं क्षेत्रीयस्तरका सम्मेलन तथा विशेष समारोहहरुमा समाचारदाता पठाउँदा फोटो पत्रकार पठाउन नसकिएको र फोटो पत्रकार पठाउँदा समाचारदाता पठाउन नसकिएको प्रति उनले मन्त्री बाँस्कोटाको ध्यानाकर्षण गराए । “समाचारदाता र फोटो पत्रकारलाई सँगसँगै पठाउनुपर्छ भन्ने मानसकिताबाट किन विचलित भइरहेका छौँ, कहाँबाट र किन यसो भइरहेको छ, बुझ्न सकिएको छैन”, अध्यक्ष अधिकारीले भने।

उनले गत असोजमा चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण र केही समयअघि भएको बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणमा समेत फोटो पत्रकार र समाचारदातालाई सँगै पठाउन नसकिएको भन्दै चिन्ता प्रकट गरे ।

अध्यक्ष अधिकारीले सानासाना कुरामा समेत मन्त्रालयसँग मागिरहनु नपरोस् भनेर आन्तरिक स्रोतलाई बलियो बनाउने उद्देश्यले बुट मोडलमा झापाको काँकडभिट्टामा भवन बनाउने प्रक्रिया अघि बढेको र दाङको तुल्सीपुरमा टहरा निर्माण सम्पन्न भइसकेकाले हस्तान्तरणको प्रक्रियामा रहेको जानकारी गराए ।

समीक्षा बैठकमा गोरखापत्र संस्थानले आफूले पहिलो चौमासिकमा ७८ प्रतिशत वित्तीय र ८८ प्रतिशत भौतिक प्रगति गरेको जानकारी गराएको थियो । संस्थानले हाल ३८ भाषामा समाचार प्रकाशन गरिरहेको छ ।

नेपाल टेलिभिजनले प्रथम चौमासिकमा ६३ दशमलव ६६ प्रतिशत वित्तीय प्रगति र ९० प्रतिशत भौतिक प्रगति गरेको जनाएको छ । टेलिभिजनको प्रसारण पहुँच ७६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएकामा अहिलेसम्म ७२ प्रतिशत पुगेको जनाइएको छ । रेडियो नेपालले भने प्रथम चौमासिकमा वित्तीय प्रगति ८९ प्रतिशत र भौतिक प्रगति ६५ प्रतिशत गरेको बताइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया