ठगीधन्दा चलाउने एजेन्ट पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ
तस्विर : सांकेतिक

वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बु छन् ।

लिम्बुले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग एक लाख २० हजार रुपैयाँ लिएका थिए । लिम्बुले शुक्रबार उनीहरुलाई ‘शनिबार उडान छ, पैसा लिएर आउनु’ भनेर बोलाएपछि झलकबहादुर र कोष्टराज मलेसिया जाने साइत गरेर काठमाडौँ आएका थिए । शनिबार उडान भनेर आए पनि आफूहरुको श्रम स्वीकृति नभएको र चर्को रकमसमेत मागेको भन्दै उनीहरुले विभागमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा विभागले तीनकुनेमा रहेको नोभा इन्टरनेशनलको कार्यालयबाट लिम्बुलाई पक्राउ गरेको हो ।

विभागको टोली अनुगमनमा पुग्दा लिम्बुले निजहरुसँग पैसा लिएर सोहि म्यानपावरका कर्मचारी गोकुल न्यौपानेलाई बुझाइसकेका थिए । विभागले न्यौपानेसँग रहेको एक लाख २० हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ । यसअघि पनि लिम्बुले उनीहरुसँग प्रतिव्यक्ति ४०÷४० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ । पीडितले आइएमईमार्फत लिम्बूलाई रकम पठाएको प्रमाण विभागलाई बुझाएका छन् ।

लिम्बुमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । सरकारले एजेन्ट खारेज गरे पनि अझै पनि म्यानपावरले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग एजेन्टमार्फत नै रकम उठाउने गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया