समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको बताएको छ ।
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिका-१५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टीे नयाँ सोचका साथ राजनीतिमा आएको बताए ।
जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे ।
चुनाव प्रचारप्रसारकै क्रममा पोखरा महानगरपालिका-१६ अर्मला पुगेका समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले देशविदेशमा प्राप्त अनुभवलाई राजनीतिमार्फत संसदमा पुगी आफ्नै देशमा उपयोग गर्ने बताए ।
जनताले मौका दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जालझेल र झुठको राजनीति कहिल्यै नगर्ने विश्वास व्यक्त गरे । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको सो पार्टीका प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।