हथौडाको प्रहारबाट महिलाको हत्या, ४ बर्षीय बालक घाइते

सर्लाही

सर्लाहीको सदरमुकाम मलंगवामा बिहीबार दिउँसो एक महिलाको हत्या भएको छ । रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भइ हाल मलंगवा–९ मा श्रीमानसँगै बस्दै आएकी २७ वर्षीया सुप्रिया भारतीको बिहीबार हत्या भएको सर्लाही प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले बताएको छ ।

मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रमा कार्यरत डा. दिपेन्द्र कुमार रजककी श्रीमती हुन् । डा. रजक उपचारमा व्यस्त रहेको बेला दिउँसो १:१५ बजे सोही अस्पतालमा अप्टिकल असिस्टेन्टको रुपमा कार्यरत ३० वर्षीय अमित बैठाले हथौडाको प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएकी सुप्रियाको हत्या गरी बैठा भारततर्फ भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बैठाले भारतीसँगै रहेको ४ वर्षीय छोरा दिवस कुमार रजकको टाउकोमा समेत हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागि गम्भीर घाइते भएका दिवस कुमारलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज रिफर गरिएको छ । प्रहरीका अनुसार हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाइ समेत रहेको बताएको छ । रौतहटका बौधिमाइ नगरपालिका सरमुजबा निवासी उनी हत्या गरी भारत पसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए । बैठाले भारतीको हत्या किन गरेको भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन । हत्यारा बैठालाई खोजीकार्य तिब्र गरिरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया