‘किम्फ फिल्म फेस्टिभल’ मङ्सिर २५ बाट सुरू

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को १७ औं संस्करण मङ्सिर २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा महोत्सव आयोजना गर्न लागिएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले जानकारी दिए ।

‘पछाडि पारिएकाहरूको आवाज’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सव ‘द एसेन्ट अफ एभरेस्ट’ फिल्म प्रदर्शनीसहित उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा ६९ देशका ४ सय २७ फिल्म मध्येबाट २९ देशका ६६ फिल्म प्रदर्शन हुनेछ । त्यसमध्ये नेपाली पनारोमाअन्तर्गत १४ फिल्म प्रदर्शन गरिनेछ ।

उक्त १४ फिल्ममा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खाज्’, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रूखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रङ्गहीन पुतली’, ‘द कलरलेस’ र ‘तीर्खा’ लगायत फिल्म प्रदर्शन हुनेछ ।

प्रदर्शन गरिने फिल्महरूमध्ये १७ फिल्म प्रतिस्पर्धात्मक खण्डमा छन् भने ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश गरिएको छ ।
महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैरकथानक (ननफिक्सन) फिल्मलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिने अयोजकले जनाएको छ ।

महोत्सवमा फिल्म प्रतिस्पर्धाअन्तर्गत निर्णायकको भूमिका माफिल कोट्स (बेलायत), जे क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्यान्ड) को टिमले गर्नेछ ।

महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शन गरिनुका साथै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी ‘स्टोरी टेलिङ’ कार्यक्रम गर्ने आयोजकको तयारी छ ।

हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २००७ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका