सर्लाहीको हरिवनमा जारी प्रदेश नम्बर २ स्तरीय दोस्रो हरिवन मेयरकप फुटबल प्रतियोगिताको बिहीबारको खेलमा पर्सा जिल्ला विजयी भएको छ । टाई ब्रेकरमा सप्तरीलाई हराउँदै पर्सा सेमिफाइनलमा प्रवेश गरेको हो ।
दुबै टिमले निकै आक्रमक रुपमा प्रस्तुत भएर खेल खेलेका थिए तर निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि खेल बाराबरीमा सकिएको थियो । निर्धारित समयपछि टाई ब्रेकरबाट नतिजा निकालिएको हो । खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । दुबै टिमबाट गोल गर्ने राम्राराम्रा अवसर गुमाएका थिए ।
टाई ब्रेकरमा सप्तरीलाई ३-२ ले हराउँदै पर्सा जिल्ला प्रतियोगिताको सेमिफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । अब पर्साले १४ गते बारा जिल्ला र सर्लाही रातो बीच हुने खेलको विजेता टिमसँग १६ गते सेमिफाइनल खेल खेल्ने पक्का भएको हो ।
विहीबारको खेलमा म्यान अफ दि म्याच पर्सा जिल्लाको आशालाल कुवर घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । भोलिको खेल भने धनुषा र रौतहट बीच दिउँसो ४:३० बजे सुखेपोखरी खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा प्रदेश २ को आठै वटा जिल्ला सहभागी भएका थिए । खेलको विजेता टिमले नगद १ लाख ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ७५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।