महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथीको लागि साथी नामक सङ्घ, कालीञ्चोक युवा क्लव र लायन्स क्लव अफ दोलखालगायतका सङ्घ÷संस्थाद्वारा उनको सम्मानमा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले जनतालाई लाभ हुने र परिणाम आउने गरी जनताको पक्षमा काम गर्ने बताए ।
“यो बेला दोलखा जिल्लाको विकाससँगै सिङ्गो देशको विकास गर्ने बेला हो, देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बेला हो, यसलाई सफल बनाउनका लागि सम्पूर्ण जनताको त्यतिकै साथ र सहयोगको आवश्यकता हुन्छ,”उनले भने ।
मन्त्री गुुरुङले दोलखा जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासँगै नमूना जिल्लाका रुपमा विकास गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । उहाँले आफू सधैंभरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदायको पक्षमा रहेको र सरकारमा रहुनजेल उनीहरुको हितमा नै काम गर्ने बताए ।