सरकारले ‘पर्यटनका लागि एक दशक’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।
“नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फ उन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ “, संस्कृति पर्यटन तया नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने । एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिए ।
आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ । उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको हो ।
पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले आज सिंहदरबारमा भएको भ्रमण वर्षसम्बन्धीको छलफलमा बताए । अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र यस आगामी दशकका लागि आधार तयार पर्ने उनको विश्वास थियो । यो बेलामा हरेक सङ्घसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उनले बताए ।
पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउँदै विश्व बजारमा नेपाललाई चिनाउन भ्रमण वर्ष आयोजना गरिएको हो । त्यसका लागि गन्तव्यस्थलको सुदृढीकरण, हवाई र यातायत पूर्वाधार महत्वपूर्ण पक्ष हो । विनाशकारी भूकम्पले थला पारेको पर्यटन क्षेत्र मुलुक सिर्जना भएको राजनीति एकता र अन्तर्राष्ट्रिय सहयोगले माथि उठाएको हो । भूकम्पले ८९१ सांस्कृतिक सम्पदामा क्षति भएकोमा ३७८ वटा पुनःनिर्माण भएको ३७९ र्निाणाधीन रहेकाले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य रहेको जनाएको छ ।