गुठीको समस्या चाँडै समाधान हुन्छ : मन्त्री अर्याल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ
फाइल तस्वीर

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीको समस्या चाँडै नै सरकारले समाधान गर्ने बताएकी छिन् ।

आज मन्त्रालयमा गुठी बचाऊ अभियानको ध्यानकर्षणपत्र बुझ्दै उनले गुठीको समस्या अब लामो समय नरहने बताइन् । विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको राजगुठी, सरकारी र निजी तीनवटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उनले निजी गुठी निजी गुठीयाराकै सम्पत्ति भएको बताइन् ।

‘निजी गुठीको हकमा गुठीयार ल्याएको कुरा नै हामी मानेर जान्छौँ । बाँकी गुठीको कुरा गुठी संस्थानले नै समस्या समाधान गर्दछ । त्यसमा हुनुहुँदैन , ‘ मन्त्री अर्यालले भनिन्, ‘हामी गुठीको सम्पत्ति जोगाउने अभियानमा छौँ । सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ति फाइदा हुने कुरा हो ।’गुठीयारको हकहितका लागि नै विधेयक फिर्ता लिएको भन्दै उनले अब नयाँ ढङ्गबाट विधेयक अगाडि बढ्ने बताइन् ।

गुठीका सम्पत्तिलाई संरक्षणको अभाव रहेको भन्दै गुठीलाई कानूनबाट नै व्यवस्थित गर्नतिर सरकार लागेको मन्त्री अर्यालले बताइन् । सरकारले गुठी विधेयकलगायतका विषयलाई समेटेर नयाँ एकीकृत भूमि विधेयक ल्याउने तयारी गरिएको जानकारी गराइन्  । अभियानका संयोजक डा. महेशमान शाक्यले सरोकारवाला सबैसँग छलफल गरेर र गुठीयारको पक्षमा विधेयक ल्याउनुपर्ने बताए ।


 

तपाईको प्रतिक्रिया