विभिन्न कार्यक्रम गरी नारायणगोपाललाई सम्झिए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

स्वरसम्राट नारायण गोपालको २९औँ स्मृति दिवसमा उनको सम्झनामा विभिन्न कार्यक्रम गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले श्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रम तथा प्रवचन कार्यक्रमको आयोजना गरेको हो ।

स्मृति दिवसको अवसर पारेर काठमाडौँ नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको नारायण गोपाल पेमला सुरमय गीत गङ्गाको शिलान्याससमेत गरिएको छ ।

६ करोड ५० लाख रुपैयाँको लागत अनुमान गरिएकामा यो वर्ष महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरे । कार्यक्रममा महानगर शाक्यले भाषा, कला र संस्कृतिको विकासका लागि महानगरपालिकाले रकम विनियोजन गर्न कन्जुस्याइँ नगर्ने बताए ।

‘यो वर्ष तीन करोड रुपैयाँ रकमले निर्माण कार्य गुणस्तरीय र प्रभावकारी ढङ्गले पूरा गर्नुहोस्,’उनले भने, ‘बाँकी रकम अर्को वर्ष थप गर्छौँ ।’उनले भाषा, कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोड्दै व्यावसायिक बन्नुपर्ने धारणा राखे । सबै कलाकार सङ्गठित भई आए कलाकारको वृत्ति विकासका लागि महानगरपालिकाले एक करोड रुपैयाँ अक्षयकोष सञ्चालनका लागि विनियोजन गर्ने जानकारी दिए ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले श्रष्टाहरु राष्ट्रका सम्पत्ति भएको भन्दै कलाकारिता क्षेत्रको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘नारायण गोपाल र उहाँ जस्ता अन्य सबै कलाकारलाई राज्यले चिन्नुपर्छ”, उनले भने, ‘पुराना कलाकारहरुको सम्मानले नयाँलाई समेत हौसला प्रदान गर्छ ।’

कोषका महासचिव तथा काठमाडौँ महानगरपालिका– ३ का वडाध्यक्ष दीपक केसीले २०५४ सालमा आफू तत्कालीन गाविस अध्यक्ष हुँदा लैनचौरदेखि हाल नारायण गोपालको शालिक राखिएको क्षेत्रसम्मलाई नारायण गोपालमार्गको रूपमा नामकरण गरेको बताए । ‘मैले शालिक निर्माण र सडक नामकरण गरेपछि एक लेखकले नारायण गोपालले छोरा पाए भनेर लेख लेख्नुभयो’, उनले भने, ‘नारायण गोपालको महत्वलाई उजागर गर्न म शुरुदेखि नै लागिपरेको छु, म आफूलाई सौभाग्यशाली ठान्छु ।’ उनले तारादेवीको सम्मानका लागि पनि महानगरबाट १० लाख रुपैयाँ अक्षयकोषका लागि विनियोजन गरेको बताए ।

यस वर्षको नारायण गोपाल स्मृति सम्मानबाट सङ्गीतकार रञ्जित गजमेर र जगत मर्दन थापालाई सम्मान गरिएको छ । उनीहरुलाई २५ हजार रुपैयाँका दरले  र सम्मानपत्रबाट सम्मानित गरिएको हो । गजमेर अस्वस्थताका कारण देशबाहिर रहेकाले उनले पठाएको भिडियो सन्देश कार्यक्रममा प्रसारित गरिएको थियो ।

थापाले स्वरसम्राट स्मृति सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताए । उनले नारायण गोपालसँग उहाँ राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि मात्र चिनजान भए पनि त्यसपछिको समयले निकटता बढाएको बताए ।

तपाईको प्रतिक्रिया