धरानमा जब उपमहानगरको मेयरमा कांग्रेसले जित्यो

पत्रपत्रिका
पत्रपत्रिका
धरान

वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन हार्‍यो नेकपा  ? जिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ।

बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वाचित भई कम्युनिस्ट विरासतलाई कायमै राखेका थिए। उपनिर्वाचनमा २६ हजार ७ सय ९ मत प्राप्त गरी मेयरमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए।

नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन्। पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन्।

पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ। तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यस बेला ११ हजार १ सय ८० मत पाएका थिए।

तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ। तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए। नवनिर्वाचित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन्। आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ।

मेयर तारा सुब्बाको निधनपश्चात् उपमेयर मञ्जु भण्डारीले १६ महिना कार्यवाहकको जिम्मेवारी सम्हालिन्। कार्यवाहक मेयर भण्डारीले उक्त अवधिमा जसभन्दा बढी अपजस पाउने काम गर्नु नेकपालाई भारी बनेको विश्लेषक बताउँछन्।

उपमेयर भण्डारीसहित धरान–१५ का वडाध्यक्ष नरेश इवारम, ११ का बाबुलाल गिरी, १६ का दिलकुमार गिरी, १७ का मनोज भट्टराई, ८ का रुद्र लिम्बू, ३ का आसकुमार  श्रेष्ठ पनि यसमा कारक देखिएका छन्। विगतमा दोब्बर मतसहित निर्वाचित जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेपछि यसपटक नेकपाको तुलनामा बढी मत कांग्रेसले प्राप्त गरेको छ। २० वडामध्ये ४, ५, ६, २० मा राम्रै मत ल्याए पनि १५ र १७ झिनो मतले मात्रै नेकपा अगाडि आयो। ३ हजार मतले अग्रता लिनुपर्ने वडा नम्बर २, ८, ११, १३, १५, १६, १७ मा नेकपाले कम पाएपछि पराजय बेहोर्नुपर्‍यो। गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका