गायक प्रकाश सपूतको ‘गलबन्दी’ गीतको लय गायक तथा संगीतकार शम्भु राईको ‘देउसीभैलो’ बाट चोरिएको भन्दै उत्पन्न भएको विवाद टुंगिएको छ । सपूतको ‘गलबन्दी’ गीतको लय र संगीत राईको ‘देउसीभैलो’ गीतसँग मेल खान गएको ठहर गर्दै नेपाली संगीत क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिको रोहबरमा बुधबार चारबुँदे सहमतिमा विवाद टुंग्याइएको हो ।
संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघलगायत संस्थाका प्रतिनिधिको रोहबरमा अबदेखि विवाद नगर्ने सहमतिपत्रमा प्रकाश सपूत र शम्भु राईले हस्ताक्षर गरेका हुन् ।
सहमतिका बुँदा
१. शम्भु राईबाट विगतमा प्रकाशित ‘आऊ नाचौं साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताउँ हासेर’ भन्ने देउसीभैलो गीतको लयसँग प्रकाश सपूतको ‘गलबन्दी-पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्ने अंशमा लय मिल्न गएको छ । ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपूत हुने गरी युट्युब तथा अन्य प्रकाशनमा प्राविधिक रूपमा सम्भव भएसम्म सच्चाउने ।
२. गलबन्दी गीतको युट्युबलगायत अन्य डिजिटल माध्यमबाट प्राप्त आर्थिक, प्रतिलिपि अधिकार तथा स्रष्टा, उत्पादक, प्रस्तोताले पाउने रोयल्टी सपूतकै अधिकार रहने ।
३. शम्भु राईले गलबन्दी बोलको गीतलाई मिति २०७६ असार ६ गते नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय तथा अन्य संघसंस्थामा दिएका निवेदन यसै सहमतिका आधारमा फिर्ता लिने ।
४. विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आउने विषयवस्तु र समाचार यसै सहमतिको विषय समावेश गरी खण्डन गर्ने सहमति ।