पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको छ । सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ ।
आज चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँ ले घटेर ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । गत बुधबार छापावाला सुन प्रतितोला ७२ हजार २०० रुपैयाँ र तेजाबी सुन ७१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला २०० रुपैयाँ, शुक्रबार ३०० रुपैयाँ, आइतबार ५०० रुपैयाँ र सोमबार प्रतितोला २०० रुपैयाँले घटेको थियो ।