तामाङ फिल्मी क्षेत्रमा कथा, पटकथा तथा संवाद लेखन गर्दै आइरहेका ऋतुराज पाख्रिन ‘घना’ ले बलात्कृत साहित्य कविता संग्रह ल्याएको छ ।
शुक्रबार तामाङ घेदुङको सभाहलमा एक कार्यक्रमबीच साढे ३ दर्जन कविताको पोको सार्वजनिक गरेका हुन् ।
बरिष्ठ साहित्यकार चेतनाथ धमलाले टिप्पणीको क्रममा भने,–‘आफ्नै गाउँ परिवेशको चित्रण कवितामा उतारेको छ ।’ उनले थपे, विविधता विषयवस्तुमा काव्यिक लेखन अगाडि बढेको छ । तर सापेक्षित ल्याउने पर्नेछ ।
साहित्यकार विना थिङले शुभकामना दिदै मातृभाषी समुदायबाट नेपाली साहित्यमा यसरी आउनु उपलब्धि ठानिन् ।
कार्यक्रममा टिप्पणीकार एवं संचारकर्मी दिपेन्द्र दोङ तामाङले आफ्नै परिवेश चित्रण भएको महसुस गर्दै शुभकामना दिए ।
यसैगरी गजलकार रुद्र अधिकारीले सरलिकृत ढंगले कवितामा सामाजिक व्यंग्य विकृति उतारेको बताए ।
संचारकर्मी एवं साहित्यकार फुलमान बलले बैचारिक दृष्टिकोण स्पष्ट नभएको बताए । उनले थपे, उत्तर आधुनिकवादको हावाले छोएको समयमा हाम्रो आफ्नै सांस्कृतिक परिवेशको युनिक कथाहरु चित्रण गर्न सके विश्वले सम्मान गर्नेछ ।
संग्रहमा संभोग शृङ्गारका बेचैनीहरु र कामवासनाबाट चाहार्दै हिड्नेप्रति घृणाका अभिव्यक्तिहरु, नेपाली समाजमा देखिने विविध विसंगति, विकृतिका कुराहरु समावेश गरिएको छ । यसैगरी देशप्रेमको उर्लदो भावना एवं मायाप्रितिका कुराहरु, गाउँघर र शहरका राम्रा नराम्रा पक्षहरु छन् । नारी संवेदना र पुरुषको ज्यादतीजस्ता कुराहरुलाई यथार्थको धरातलमा उभिएर लेखिएको छ ।
कृतिमा बलात्कृत साहित्य–१, यौवनको खेती, कलियुगका कृष्ण र गोपिनी, अप्सराको काम, बलात्कारी आँखा, चित्कार, एक चेली, रजस्वला, कण्डमको घर जाँतोको आवाजमा, सारंगी, नारी, आमाको युद्ध, मान्छे खाने चिहान लगायतका शिर्षक रहेका छन् ।