सांसद जनार्दन शर्माले खेल गतिशीलता, अनुशासन, सिर्जनशीलता, स्वस्थता र बौद्धिकताको विकास गर्ने माध्यम भएको बताएको छ ।
बर्दियाको मधुवन नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप तथा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूद क्षेत्र राष्ट्रको पहिचान र समृद्धितर्फको खुट्किलो रहेको बताए ।
नगरपालिकाप्रमुख गणेशबहादुर केसीले शिक्षा र खेलकूदको विकासका लागि नगरपालिकाले विशेष जोड उल्लेख गर्दै बालबालिकाको क्षमतालाई राष्ट्रियस्तरमा नै पुर्याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।
मधुवन बजारको गुराँस माविमा शुरु भएको प्रतियोगितामा मधुवन नगरपालिकाका १९ वटा सामुदायिक र संस्थागत विद्यालयका बालबालिका सहभागी भएका छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल १९ खेलमा प्रतिपस्पर्धा हुनेछ ।
गुराँस माविका सहआयोजनामा भएको प्रतियोगिताका लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । बालबालिकाको क्षमता पहिचान गर्नका लागि नगरपालिकाले हरेक वर्ष यस्ता किसिमका खेलको आयोजना गर्दै आएको छ ।