म तारा बनें नि आमा

कविता

जब ताते गर्न थालें–
खुसी दौडियो आमाको अनुहारभरि
अनि भन्नुभयो ‘तिमी नै हौ भविष्यको तारा ।’

जब स्कुलमा भर्ना भएँ–
गमक्क हुँदै छाती तन्काउनुभयो कक्षा शिक्षकले
अनि भन्नुभयो ‘तिमी नै हौ भविष्यको चम्किलो तारा ।’

कक्षा १० उतीर्ण भएपछि–
जुँगा मुसार्नु भयो हाइस्कुलका हेडसरले
अनि भन्नुभयो ‘तिमी साँच्चैको भविष्यको सुनौलो तारा ।’

यही प्रेरणाले
गन्न मन लाग्यो तारा, बन्न मन लाग्यो तारा

जब विश्वविद्यालय घुसे
घामलाई पृथ्वीले घुम्नुको कारण बुझें
पृथ्वीलाई जुनले घुम्नुको कारण थाह पाएँ
थाह पाउन थाले चम्कने ताराहरुको बाध्यता

आमाले भविष्यको घाम भन्नुभएको भए
कक्षा शिक्षकले भविष्यको चम्किलो पृथ्वी भन्नुभएको भए
हाइस्कुलको हेडसरले भविष्यको सुनौलो जुन भन्नुभएको भए

कि घाम, कि पृथ्वी, कि त जुनजस्तै
बन्ने कोशिशमा हुन्थे हुँला

घाम जति नै निरंकुश भए पनि
पृथ्वी जति नै तटस्थ भए पनि
जुन जति नै लोकतान्त्रिक भए पनि
म सबैको अगाडि चमचम चम्कने तारा बनें

घाम सत्तापक्षजस्तो, जुन प्रतिपक्षजस्तो, पृथ्वी सभामुखजस्तो
तारा चाहि आम जनताजस्तो
हो त्यही तारा बनें नि आमा म त

घाम रन्किँदा पनि म चमचम गरिरहेकै हुन्छु
तर दुनियाँलाई बाल
जुन टल्किँदा पनि चमचम गरिरहेका हुन्छु

तपाईले भन्नुभएको थियो नि भविष्यको तारा
हो त्यही तारा बनें नि आमा म त

त्यही सत्ताले वास्तै नगर्ने तारा
त्यही प्रतिपक्षले प्रयोग गर्न खोज्ने तारा
पृथ्वीले वास्तै नगर्ने तारा

कहिलेकाही त लाग्छ तारासँगै जुधेर झरौ धर्तीतिर
तर धर्तीमा पनि हामीजस्तोको ठाउँ नै कहाँ छ र ?

त्यसैले
केवल ब्ल्याक होलहरुले कहिले आक्रमण गर्ने हो ?
त्यही दिन कुरिरहेको छु आमा ।

जाउलाखेल

तपाईको प्रतिक्रिया