गोरु र पोथी याक लखेट्दा लाङटाङको जन्म

सरस्वती न्यौपाने संचारकर्मी
लोककथा

लाङटाङ हिमाल र लाङटाङ गाउँको बारेमा धेरै देशी तथा विदेशी पथ प्रदर्शकहरु चिरपरिचित छन् । रसुवा जिल्लाकै पहिचानको रुपमा समेत रहेको लाङटाङ गाउँको आफ्नै महत्व र इतिहास रहेको छ । चीन र नेपाल जोड्ने अन्तराष्ट्रिय रसुवागढी नाका पनि यही पर्दछ । यसकारण पनि यो क्षेत्र चर्चामा रहेको छ ।

यो क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । त्यसकारण, तिब्बतीयन र नेपालीहरुबीच मैत्रीपूर्ण सम्बन्ध मात्र होइन, युगौंदेखिको सांस्कृतिक र धार्मिक सम्बन्ध जोडिआएको छ । यहाँका बासिन्दाबीच तिब्बतीयन लोककथा र किंवदन्तीहरु पनि लोकप्रिय रहेको छ ।

गाउँघरमा प्रचलित गोरु र ब्रिको कथाले पनि यो कुरालाई प्रमाणित गर्दछ । किंवदन्ती अनुसार एकपटक तिब्बतको केरुङमा केही मानिसहरु भेला भएछन् । उनीहरुमा भोज खाएर रमाईलो गर्ने सोच आएछ । उनीहरु भोज खानको लागि मासुको प्रबन्ध गर्नतर्फ लागेछन् । मासुको लागि गोरु र ब्री (याक) मार्न खोजेछन् । मार्न ठिक्क पारेको गोरु र पोथी याक (ब्री) त्यस ठाउँबाट दाम्लो चुडालेर भागे छन् । त्यहाँ भेला भएका मान्छेहरु मध्ये थर्पु गेन्जेन नाम गरेका ब्यक्ति गोरू र याक समात्न पछिपछि दौडे ।

गोरु खोज्दै जाँदा उनी लिङ लिङ पुगे । गोरु र याकको खुट्टाको डोब हेर्दा पूर्वको डाँडातिर उक्लेको देखे । थर्पु पूर्वतिर फर्केर हेर्दा पारि पट्टिको पाखामा याक (ब्री) को बाच्छो नाचिरहेको देखे । बाछो देखेपछि याक पनि ‘ए त्यही त रहेछ नि’ भनेर थर्पु थकाई मार्न बसे । त्यो डाँडोमा अहिले वर्षेनी ह्युल्सा पुजा गरिन्छ ।

ह्युल्सा पूजा गर्नुको पछाडि एउटा कथा लुकेको छ । थर्पु गेन्जेन जब थकाई बिसाएर याक मार्न जान खोज्यो र याकको बाछो भएको डाँडोतिर हेर्यो, त्यहाँ त ब्री (याक) र बाच्छो हिलो जमीनमा भासिदै थियो । ब्री (याक) र बाछो जमीनमा भासिएर बेपत्ता भएको हुनाले यो ठाउँको नाम ब्रिद्धिम भनियो । भोट भाषामा ब्रिदिप भनेको पोथी याक भासिनु हो । यो शब्द अपभ्रसं भएर अहिले बृद्धिम गाउँ भएको छ ।

याक र बाछो भासिएर हराएपछि बाँकी रहेको गोरु खोज्दै बुढा थर्पु गेन्जेन अघि बढे । खाङजिम भन्ने ठाउँमा पुगेपछि उनले गोरु देखे । उनलाई देख्ने बित्तिकै गोेरुले हब्बाँ गर्दै करायो । स्थानीय तामाङ भाषामा गोरुले कराउनुलाई काँ भन्छन् । गोरुले मुख बजाएर काँ गरेर कराएको हुनाले यो ठाउँको नाम खाङजिम भनियो । भोट भाषामा खा भनेको मुख र खाङजिम भनेको मुख आँ गरेर कराउनु हो ।

भोट भाषामा गो भनेको टाउको र क्याङक्यो भनेको तन्काएको अर्थात टाउको तन्काएको भन्ने अर्थ जनाउछ । त्यो ठाउँमा गुम्बा बनाएपछि क्याङजेन नाम रहन गयो । क्याङजेन नाउँबाट पनि त्यस ठाउँलाई अहिले चिनिन्छ ।

बल्ल बल्ल चारैतिरबाट छेकेर बुढा थर्पु गेन्जेनले गोरु समात्यो । चारैतिरबाट घेर्नु वा छेक्नुलाई भोट भाषामा सुर्का भनिन्छ । गोरु समात्नका लागि चारैतिर घेरेको हुनाले त्यो ठाउँलाई लाङतासा भनियो । भोट भाषामा लाङतासा भनेको गोरु बाँध्ने ठाउँ हो । गोरु बाँधेको चिन्ह स्वरुप अहिले पनि यहाँ ढुङ्गाको प्वाल रहेको छ । गोरु चुटेको लट्ठी जहाँ ठड्याइएको थियो, त्यो ठाउँमा रुख उम्रेको छ ।

गोरु फेरी फुत्कियो । गोरु अघि अघि र गेन्जेन बुढा पछि–पछि दौडिए । वार्का पुच्चु (बार्का काँढा) घारी बाक्लो थियो । काँडाले गोरुको छाला बेस्सरी कोत¥यो । छाला कोतरेको हुनाले यस ठाउँलाई पाको स्याक्याँ भनिएको छ । यसको अर्थ छाला कोतरेको भन्ने हुन्छ । अहिले यस गाउँको नाम नै स्याप्पोको राखिएको छ ।

यो ठाउँमा पहिला शेर्पा गाउँ थियो । अहिले यो गाउँमा शेर्पाहरु छैनन् ।

उनले गोरु समात्न सकेनन् । रिम्च्चेमा पुग्दा गोरु झारभित्र लड्यो । गोरु लडेको (लाङ रिल्क्यो) हुनाले त्यो ठाउँलाई लाङ रिल्क्यो च्ये भनियो । पछि त्यो शब्द अपभ्रंस भएर रिमोच्ये भएको हो । गोरु उठेर फेरी हिंडयो । गोरु अघि–अघि बुढो पछि–पछि । गोरु चाङडाम पुग्यो । (खोलाको किनारलाई अहिले लामा होटल भनिन्छ ।) चाङडामबाट हिडेको गोरु फेरी हरायो । गोरु हराएको हुनाले त्यो डाडाँको नाम लाङतोर गाङ भयो । लाङतोर भनेको गोरु हराउनु र गाङ भनेको डाँडा हो ।

चाङडामबाट फर्केर गोरुको डोब खोज्दै खोलाको किनारै किनार थर्पु गेन्जेन माथितिर लागे । डोब पछ्याउँदै जाँदा गोम्ना भन्ने ठाउँमा गोरुले बाटोमा लडिरहेको रुखको टिम्बा (गोन्दो)लाई हामफाल्दै नाघेर गयो । गोरुले फाल हालेको हुनाले त्यो ठाउँलाई गोम्ना भनिएको हो । क्युर्पुनेसा (हालको घोडा तबेला) पुगेपछि थर्पु गेन्जेनले दङच्युब क्षुर्चा (पदमचाल) को घारीमा गोरु चरिरहेको देखे । बुढालाई थकाई लाग्यो । थकाई मारेको हुनाले त्यो ठाउँलाई थाङस्याब भनियो । थर्पु गेन्जेन बुढाले थकाई मारेको ढुङ्गा जसलाई (स्युठी) पनि भनिन्थ्यो । त्यो ढुङ्गा चिल्लो खालको थियो । अहिले त्यो ढुङ्गा छैन । होटलवालाहरुले फुटाई दिए । त्यो ढुङ्गा फुटाउनु हुदैन भन्ने ज्ञान नभएका कारण फुटाएका हुन् । इतिहासको साक्षी रहेको यो ढुङ्गाको धार्मिक महत्व पनि नबुझेका कारण फुटाएको स्थानीय बुढापाकाहरु बताउँछन् ।

लाङटाङ पुग्नु अगावैको डाँडोमा पुगेपछि गोरुले चारवटै खुट्टा तन्काए छन् । गोरुले खुट्टा तन्काएको हुनाले त्यो ठाउँलाई काङतङसा भनियो । भोट भाषामा काङतङसा भनेको खुट्टा तन्काउनु हो । वारि डाँडाबाट हेर्दा एउटा उपत्यका देखियो । उपत्यकामा हरियो घाँसे गहुँ, करु आदि अन्नबाली लहलह भएको गोरूले देखेछ । गोरु त्यहीँ उपत्यकामा पुगेर घाँस खाएर अघाएर सुतेको हुनाले त्यो ठाउँलाई लाङटाङ भनियो । लाङटाङ भनेको गोरु अगाएको भन्ने हो । अहिले पनि यो ठाउँलाई लाङटाङ नै भनिन्छ ।

बुढाले त्यहाँ पनि गोरु समात्न सकेनन् । गोरु फेरी जुरुक्क उठेर उकालो लाग्यो । बुढा मान्छे अचम्म मान्दै पछयाउदै गए । क्याङजेन पुगेपछि गोरुले टाउको हल्लाएर जीउ तन्काएछ । गोरुले टाउको हल्लाएर जीउ तन्काएको हुनाले यो ठाउलाई क्याङजेन भनियो । भोट भाषामा गो भनेको टाउको र क्याङक्यो भनेको तन्काएको अर्थात टाउको तन्काएको भन्ने अर्थ जनाउछ । त्यो ठाउँमा गुम्बा बनाएपछि क्याङजेन नाम रहन गयो । क्याङजेन नाउँबाट पनि त्यस ठाउँलाई अहिले चिनिन्छ ।

समात्न खोज्दा गोरु फेरी उकालो लाग्यो । बुढा फेरी गोरुको पछि लागेर हिमालमुनि पुगेपछि मात्र गोरु भेटाउन सके । लामो हिडाई र थकाइले गर्दा बुढालाई गोरुदेखि रिस उठ्यो । उनले रिस थाम्न नसकेर भिरेको तरवारले गोरु मारेछन् । गोरू मारेपछि बुढालाई पश्चताप भयो । गोरु मरेको त्यो ठाउँलाई लाङसिसा भनियो । भोट भाषामा लाङ भनेको गोरु र सिसा भनेको मरेको ठाउँ वा जमिन भन्ने जनाउँछ ।

थकाई र पश्चतापले गर्दा त्यहीँ रहेको ढुङ्गामाथि थर्पु गेन्जेन निदायो । उनलाई सपनामा जोगीको भेषमा आएर भगवानले भनेछन्, ‘तिमीले यसरी पछुतो मान्नु पर्दैन । तिम्रो कारणले गोरु मरेको होइन । मैले तिमीलाई यो पवित्र भुमी लाङटाङ देखाउनका लागी यो गोरुको पछाडि पछाडि हिंडाएको हुँ । तिमीले नडराईकन यो गोरुको शरीरलाई टुक्राटुक्रा पार्नु र ढुङ्गामाथि फिंजाएर राख्नु । उ त्यो भीरमा एउटा बघिनी बस्छे । तिमिले त्यहाँ गएर नडराईकन त्यो बघिनिको दुध दुनु र भगवानलाई दुध (हवोकि÷ओबी) चढाउनु ।’ थर्पुले यो सपना देख्ने बित्तिकै ब्युँझिएछन् ।

सपनामा देखेअनुसार उनले गर्न खोज्दा अचानक हुने मौसम परिवर्तनले गर्दा सपनामा देखेको जोगी बाबाको ईच्छा कहिल्यै पुरा गर्न सकेन छन् । थर्पु गेन्जेन तिब्बतको होर्याक भन्ने ठाउँमा फर्किए । पछि परिवारसहित उनी लाङटाङमा बस्न आए । किंवदन्ती अनुसार लाङटाङमा मानव वस्तीको सुरुवात यसरी भएको हो भनिन्छ ।

तत्कालिन राष्ट्रिय पञ्चायतका उपाध्यक्ष दावा फिञ्जो तामाङ र रसुवा जिल्लाका अधिवक्ता फुर्पा तामाङले पनि यो कथा सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका