बक्सिङका स्वर्ण पदकधारीले थप चार लाख पाउने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

यो उनीहरुले सरकारबाट पाउने नौ लाख रुपैयाँ भन्दा बाहेकको पुरस्कार रकम हो । तेह्रौँ सागमा नेपालका एक महिला तथा दुई पुरुष बक्सरले स्वर्ण पदक जितेका थिए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले एक लाख ५० हजार रुपैयाँ, नेपाल बक्सिङ संघका मुख्य प्रशिक्षक प्रकाश थापामगरले एक लाख रुपैयाँ, नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले एक लाख रुपैयाँ तथा नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

यस्तै पूर्वबक्सिङ खेलाडी एवं राखेपका केन्द्रीय सदस्य राजेश गुरुङले स्वर्ण पदक प्राप्त बक्सिङ खेलाडीलाई एक एक तोला सुन प्रदान गर्ने बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्टले जानकारी दिए ।

बक्सिङ संघका पदाधिकारी तथा प्रशिक्षकले पुरस्कर दिने घोषणा गरेपछि उनीहरू थप पुरस्कर पाउने भएका हुन् ।

तेह्रौँ सागमा ६४ किलो तौल समूहमा भूपेन्द्र थापामगर, महिलातर्फ ५४ किलो तौल समूहमा मिनु गुरुङ तथा ६० किलो तौल समूहमा सनिल शाहीले स्वर्ण पदक जितेको थियो । नेपालले सन् १९९९ मा आठौँ सागमा बक्सिङमा दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेको थियो ।

आफ्नो प्रदर्शनमा सुधार गर्दै नेपालले १३ औँ सागमा बक्सिङमा तीन स्वर्ण, ६ रजत तथा ६ कास्य गरी १५ पदक प्राप्त गर्न सफल भएको प्रशिक्षक भट्टले बताए । भट्ट आठौँ सागका समेत प्रशिक्षक हुन्  ।

मुख्य प्रशिक्षक प्रकाश थापामगरले आठौँ सागमा स्वर्ण प्रदक जितेको थियो । आठौँ सागमा अर्को स्वर्ण उनकै भाई रामचन्द्र थापामगरले जितेको थियो । तेह्रौँ सागमा नौ खेलाडी फाइनल पुगे पनि तीन जनाले मात्र स्वर्ण पदक जित्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया