प्रहरी र ओखरपौवाको सिसडोलबासीबीच झडप हुँदा ठूलो संख्यामा स्थानीयवासी घाइते भएका छन् । केही स्थानीबासी पक्राउ समेत परेका छन् ।
स्थानीयबासीहरुले आफ्नो माग पूरा नगरेको भन्दै ५ दिन अघिदेखि आन्दोलन थालेका थिए । सरोकारवालाले उनीहरुको न्यूनतम माग पनि पूरा नगरेको उनीहरुको आरोप छ । आन्दोलन स्थलमा काठमाडौं र नुवाकोटबाट पुगेका प्रहरी तथा सशस्त्र र स्थानीयबीच डेढ घन्टा झडप भएको थियो । झडपमा बालाजु प्रहरीका डीएसपी बालनरसिंह राणा पनि घाईते भएको जनाएको छ ।
माग पूरा नभएसम्म फोहर फ्याल्न नदिने अडानमा रहेका सिसडोलवासी र प्रहरीबीचको झडप नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । तनाव बढ्दै गएपछि अश्रुग्याँस समेत प्रयोग गरेको थियो । पक्राउ परेका स्थानीयमध्ये केहीलाई प्रहरीले नुवाकोट लगेको छ भने केहीलाई काठमाडौं ल्याएको छ ।
सिसडोलमा फोहर फ्याल्न थालेपछि १२ जना स्थानीयवासीको अनाहकमा मृत्यु भएको दावी गर्दै आएको समितिले आफुहरुको न्यूनतम मागमा पनि सरकारले ध्यान नदिएको आरोप लगाउदै आएको छ ।
समितिले सिसडोलवासी नागरिकको जीवन वीमा गरिनु पर्ने, पशुचौपायाहरुको पनि वीमा गरिनु पर्ने र बालीनालीको पनि वीमा गरिनु पर्ने माग गर्दै आएको छ ।